• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

थारु तथा मैंथिल महिलाले मनाउने जितिया व्रत सुरु

थारु तथा मैंथिल महिलाले मनाउने जितिया व्रत सुरु
न्यूज टुडे
राजविराज,०८ असोज । 
थारु तथा मैथिल महिलाहरुले विशेष महत्त्व र हर्सोउलासका साथ तराई मधेसका जिल्लाहरुमा मनाउने जितिया व्रत सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका कामना गरी मंगलबार देखि व्रत सुरु भएको हो । 
थारु तथा मधेसी समुदाय बसोबास क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि सुरु भएको यो पर्व सोमबार ओंठगन, मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण गरी समापन गरिने जितिया व्रत सुरु भएको थारु कल्याणकारी सभाकी जिल्ला सदस्य कल्पना कुमारी चौधरीले बताइन्।
तिथिको हेरफेरअनुसार यस वर्ष सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरी तथा बुधबार दिनभरी उपवास बस्नुपर्ने छ भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न हुने जानकारी दिइन् । 
व्रत (उपवास) बस्नुअघि महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ)र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलन रहेको थाकसकी केन्द्रीय सदस्य सावित्री चौधरीले बताइन् ।
“मङ्गलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी बुधबार साँझ ५ः१५ बजे व्रत सम्पन्न  हुन्छ” उनले भनिन्,”व्रतालूहरु नजिकको नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।” 
उनले व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्ने जानकारी दिइन् । 
“देवतालाई चढाएकै तेलमध्येबाट आ(आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो )’ भनिन्छ” उनले भनिन् ।
“विधिअनुसार मंगलबार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु)महिलाहरु ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ ।” चौधरीले भनिन्,” प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम ।”
आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको थाकसकी केन्द्रीय सदस्य दिल कुमारी चौधरीले बताइन् ।
उनले सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको जानकारी दिइन् । 
“यस पर्वले थारु तथा मैथिल महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ” उनले भनिन्” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।”
थारु तथा मधेसी महिलाहरुले मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मनाउने प्रचलन रही आएको थारु पण्डित भगवती चौधरीले बताए । 
“उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ” उनले भने,”त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।”
राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास (व्रत) सुरु भएको पौराणिक कथन रहेको उनले जानकारी दिए । 
जितिया पर्वको अवसरमा बुधबार विभिन्न स्थानमा शुभकामना आदानप्रदान, साँस्कृतिक, धार्मिक कार्यक्रम तथा सभा सम्मेलनको समेत आयोजना गरिने थाकस सप्तरीका सचिब मिलन कुमार लेखीले जानकारी दिए ।