• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पहिचान सहितको संघीयता राष्ट्रको आबश्यकता :  रेशम चौधरी

पहिचान सहितको संघीयता राष्ट्रको आबश्यकता :  रेशम चौधरी
न्यूज टुडे
राजविराज, १८ भदौ । 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पहिचान सहितको संघीयता राष्ट्रको आबश्यकता भएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी सप्तरीद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ जण्डोलमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट अन्तरक्रिया तथा पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा सहभागी नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै चौधरीले थारु, आदिवासी जनजाति आन्दोलन, मधेश बिद्रोहसहितका नेपाली जनताको  विभिन्न कठोर संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि एकताबद्व हुन आग्रह गरे । जातीय, लैङ्गीक विभेद तथा भेदभाव अन्त्य गर्दै सामाजिक न्याय र समानताको लागि पार्टी स्थापना भएको बताउंँदै  चौधरीले नागरिक उन्मुक्ति पार्टीले मात्र सम्पुर्ण उत्पीडित समुदाय र बर्गलाई न्याय दिलाउन सक्ने जिकिर गरे । 
नव प्रवेशीहरुलाई खदा टीका लगाएर स्वागत गर्दै पार्टीका संरक्षक रेशमलाल चौधरी । फोटो : न्यूज टुडे
नेपाली जनताको बलिदानी र कठोर संघर्षबाट देश संघीय प्रणालीमा गएको उल्लेख गर्दै  उनले पहिचान संघीयताको लागि सम्पुर्ण उत्पीडित जातिसमुदायलाई पार्टीमा आवद्ध हुन आग्रह गरे ।
“देशमा संघीयता तथा समानुपातिक समाबेशी  प्रतिनिधित्व विरुद्ध षड्यन्त्र हुदैछ” चौधरीले भने, संघीय प्रणालीलाई बदनाम गरी उल्टाउने प्रयास गरिदैछ,  तर पहिचान सहितको संघीयता राष्ट्रको आवश्यकता हो”
पहिचान संघीयता विना मुलुकमा सुशासन, विकास र समृद्धिको परिकल्पना सम्म गर्न नसकिने चौधरीको भनाइ थियो ।
नागरिक उन्मुक्ति पार्टी सप्तरीका अध्यक्ष बृजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारु, चन्द्र नारायण चौधरी, मधेस प्रदेशकी पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य उर्मिला देवी सिंह, केन्द्रीय सदस्य रिता शर्मा यादव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, नागरिक उन्मुक्ति पार्टीका स्थानीय नेता विन्तीलाल चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला सचिब धर्मनाथ चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत पुर्व प्रधानाध्यापक चन्द्रदेव चौधरीले गरे भने पार्टीका केन्द्रीय सदस्य हृदय नारायण चौधरीले  स्वागत गीत प्रस्तुत गरे । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।  नवप्रवेशी नेताकार्यकर्तालाई प्रमुख अतिथि संरक्षक चौधरीले खदा र टीका लगाएर पार्टी प्रदेश गराएका थिए ।