• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रेस मञ्चले माग्यो महासंघको धारणा, २४ घण्टा भित्र माग सम्बोधन नभए महासंघमा तालाबन्दी गर्ने चेतावनी

प्रेस मञ्चले माग्यो महासंघको धारणा, २४ घण्टा भित्र माग सम्बोधन नभए महासंघमा तालाबन्दी गर्ने चेतावनी
न्यूज टुडे
राजविराज, ०५ भदौ । 
प्रेस मञ्च नेपाल सप्तरीले राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहित समूहले पत्रकारमाथि गरेको आक्रमण घटनामा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आधिकारिक धारणा माग गरेको छ । जिल्ला अध्यक्ष भूषण कुमार सिंह नेतृत्वमा बुधबार महासंघ पुगेका मञ्च आवद्ध पत्रकारहरुले अध्यक्ष श्रवण कुमार देवलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
 पत्रकारलाई दुर्व्यवहार गर्ने राजगढ गाउँपालिका अध्यक्ष मण्डलसहितका संलग्नमाथि जाहेरी दर्ता सन्दर्भ महासंघले लिखित रुपमा आधिकारिक धारणा  सार्वजनिक गर्नुपर्ने मञ्चले बुझाएको ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।  ज्ञापनपत्रमा २४ घण्टा भित्र लिखित रुपमा आधिकारिक धारणा जानकारी नगराए महासंघको कार्यालयमा तालाबन्दी सहित चरणबद्ध सशक्त आन्दोलनमा उत्रिनु बाध्य हुने चेतावनी समेत दिइएको छ ।  यसबाट उत्पन्न हुने  सम्पुर्ण परिस्थितिको जिम्मेवारी महासंघले  लिनुपर्ने समेत ज्ञापनपत्रमा भनिएको छ । 
“यस प्रकरणमा हालसम्म महासंघबाट के कस्ता पहल भएको ?, जाहेरी दर्ता गराउने सन्दर्भमा महासंघको आधिकारिक धारणा लिखित रुपमा जानकारी गराउन हार्दिक अनुरोधकासाथ यो ज्ञापन–पत्र पेस गरेका छौं”ज्ञापनपत्र भनिएको छ, “यही २०८१ साल भदौ ०६ गते बेलुका ०४ बजेसम्म यस प्रकरणमा पत्रकार महासंघको लिखित धारणा प्रस्तुत गरिदिनु हुन सादर अनुरोध छ । अन्यथा, पत्रकार महासंघको शाखा कार्यालयमा तालाबन्दी गरी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी यसै ज्ञापन–पत्रमार्फत गराउँदछौं । यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ शाखाकै हुनेछ ।”
समाचार संकलनमा खटिएको पत्रकारमाथि आक्रमण घटनापछि प्रहरीले दुईहप्तासम्म जाहेरी दर्ता नगर्दा पनि महासंघ मौन बसेको भन्दै मञ्चले आपत्ति समेत जनाएको छ । 
“२०८१ श्रावण २२ गते जिल्लाको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल नेतृत्वमा पत्रकारहरुसँग भएको दुव्र्यवहारको घटनाबारे तपाईलाई अवगत्तै छ । यस प्रकरणमा तपाईकै अगुवाईमा पीडित पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी समेत दिए पनि हालसम्म उक्त जाहेरी दर्ता हुन नसकेको तथ्यबाट पनि तपाई अनभिज्ञ हुनुहुन्न” अध्यक्ष सिंहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,”सञ्चारकर्मको क्रममा पत्रकारहरुको सञ्चार उपकरण खोस्ने, अभद्र व्यवहार गर्ने लगायतका कार्यलाई प्रेस मञ्च नेपालले गम्भीरतापूर्वक लिए पनि हालसम्म पत्रकार महासंघकै अगुवाईमा यस मुद्दालाई कानूनी निष्कर्षमा पुर्‍याउने विश्वासका साथ अघि बढिरहेको व्यहोरा सर्वविदितै छ, ज्ञापनपत्रमा अगाडि भनिएको छ, “यद्यपी, दुई साता वितिसक्दा पनि सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेको तथा जाहेरी दर्ता गराउनेतर्फ पत्रकार महासंघ समेत मौन देखिएको हुँदा पीडित पत्रकारहरुलाई न्याय, पत्रकारको आत्मसम्मानको रक्षा र प्रेस स्वतन्त्रताका निम्ति प्रेस मञ्च नेपाल चरणबद्ध दवाबमूलक कार्यक्रम अघि बढाउन अग्रसर भएको जानकारी गराउन चाहन्छौं ।” 
गत साउन २२ गते समाचार संकलनका लागि राजगढ गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिब एवम् कान्तिपुर टिभीका सप्तरी प्रतिनिधि रामनारायण विश्वास, कोषाध्यक्ष एवम् राजविराज दैनिकका  प्रकाशक नवीन कुमार गुप्ता  र कार्यसमिति सदस्य एवम् नेपाल समाचार पत्रका प्रतिनिधि विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका  समुहले कोठामा बन्धक बनाएर माइक खोस्नुको साथै दुर्व्यवहार गरेका थिए ।