न्यूज टुडे
राजविराज, ०३ भदौ ।
लवकुश जयन्ती २०८१ को अवसरमा कुशवाहा समुदायका जनप्रतिनिधि, विद्यार्थीसहित विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । कुशवाहा कल्याण समाज सप्तरीद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ दुधैलामा सोमबार आयोजित एक समारोहका वीच उनीहरु सम्मानित भएका हुन् ।
कुशवाहा कल्याण सम्मज सप्तरीका कार्यबाहक अध्यक्ष गिरधर कुमार मेहताको अध्यक्षता तथा कुशवाहा कल्याण समाज सप्तरीका पुर्व अध्यक्ष हंश नारायण मेहताको प्रमुख आतिथ्य तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको विशिष्ट आतिथ्यमा उनीहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा कुशवाहा समुदायका जननिर्वाचित तिरहुत गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव नारायण मेहता, रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सुर्य नारायण मेहता, कन्चनरुप नगरपालिका वडा नम्बर ९ का वडा सदस्य राज कुमार मेहता रहेका छन् ।
यसैगरी एसइई परीक्षा २०८० मा कुशवाहा समाजबाट जिल्लामै उत्कृष्ट अंक प्राप्त गरी उतिर्ण तीनजना छात्रछात्रालाई सम्मान गरिएको छ । सम्मानित हुने छात्रछात्राहरुमा रुपनी गाउँपालिका ६ विरेन्द्र बजारका रविन्द्र कुमार मेहता, तिरहुत गाउँपालिकाकी काजल कुमारी मेहता र विष्णुपुर गाउँपालिकाका प्रदिप मेहता रहेका छन् ।
यस्तै आप्रवासी हकहित संरक्षण केन्द्र मधेश प्रदेश अध्यक्ष जितेन्द्र प्रसाद सिंहा, मधेश प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा ज्याभलिन थ्रो खेलमा प्रथम स्थान हाँसिल गरेका रुपनी गाउँपालिका ६ का मजोज कुमार मेहता र हालसालै लोक सेवाबाट शिक्षकमा नाम निकाल्न सफल रुपनी गाउँपालिका ६ की नुतन कुमारी मेहता सम्मानित भएका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजका पुर्व अध्यक्ष मेहता, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष यादवले प्रशंसा – पत्र प्रदान गरी, टीका लगाएर र दोसल्ला ओढाएर सम्मान गरे ।
विविध विद्याबाट कुशवाहा समाजको नाम उच्च राख्न योगदान पुर्याएकाले लवकुश जयन्ती २०८१को अवसरमा उनीहरुलाई सम्मान गरिएको कुशवाहा कल्याण समाज सप्तरीका कार्यबाहक अध्यक्ष गिरधर मेहताले जानकारी दिए ।
लवकुश पूजा एवम् सम्मान तथा प्रशंसा-पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेहताले सबै समुदायको साथ सहयोग लिएर अगाडि बढ्न कुशवाहा समुदायलाई आग्रह गरे । उनले कुशवाहा समाजको पुर्खाको रुपमा रहेको कुल देवता लवकुश मन्दिर निर्माण गरेकोमा खुशी व्यक्त गर्दै मन्दिरले पुर्णता पाउनेसाथ मुर्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिंदै उनले उज्जोल भविष्यको शुभकामना समेत व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष यादवले लवकुशको वीरताको गाथा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । लभकुशको जीवनी बारे चर्चा गर्दै अध्यक्ष यादवले लवकुश दाजुभाइको वीरताको गाथाबाट प्रेणा लिएर समाजिक रुपान्तरणका लागि विभेद,अत्याचार र अन्यायको विरुद्ध लड्नु पर्नेमा जोड दिए ।
दुधैलामा निर्माण गर्न थालिएको लवकुश मन्दिर निर्माणमा गाउँपालिकाले सहयोग गरेपनि पुर्ण बजेट खर्च नगरेको प्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष यादवले विनियोजित बजेट सबै खर्च नभई फ्रीज हुनुमा कुशवाहा समाजका अगुवाहरुको ठूलो कमजोरी देखिएको टिप्पणी गरे । उनले समाजको उत्थान र विकासमा गाउँपालिकाले अझै पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा कुशवाहा कल्याण बचत तथा ॠण सहकारी संस्था सप्तरीका अध्यक्ष योगेन्द्र प्रसाद मेहताले निर्माणाधीन अधुरो लवकुश मन्दिरलाई पुर्णता दिनको लागि सहयोग गर्न रुपनी गाउँपालिका अध्यक्ष यादवलाई आग्रह गरे ।
सम्मानित कन्चनरुप नगरपालिका वडा नम्बर ९ का वडा सदस्य राज कुमार मेहताले दुधैलामा निर्माणाधीन अवस्थामा रहेको मन्दिर निर्माणका लागि व्यक्तिगत २५ हजार सहयोग गर्ने उद्घोष गरे ।
कुशवाहा कल्याण समाज रुपनी ६ दुधैलाको सौजन्यमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, थारु कल्याण कारीणी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी,कुशवाहा कल्याण समाज सप्तरीका पुर्व अध्यक्ष लक्ष्मण मेहता, चर्चित कलाकार गोपाल प्रसाद चौधरी, समाजका जिल्ला सह सचिब चेत नारायण मेहता, रुपनी गाउँपालिका वडा नम्बर १ का पुर्व वडा अध्यक्ष पिताम्वर यादव, लोसपा नेता रमानन्द ठाकुर,युवा नेता कैलाश लौगी, शैलेन्द्र कुमार यादवलगायत कुशवाहा समुदायका अगुवा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय युवा देव नारायण मेहताद्वारा संचालित कार्यक्रममा स्वागत रुपनी गाउँपालिका वडा नम्बर ६ बाट वडा अध्यक्षका प्रत्यासी उम्मेदवार ओम प्रकाश मेहताले गरे ।
उक्त अवसरमा लवकुश पूजन तथा प्रसाद वितरण गर्नुको साथै सहभागीहरुलाई कुशवाहा समाजका पण्डितले रक्षा बन्धन बाँझेर आर्शिवाद दिएका थिए भने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगणलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।