• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अध्यक्ष मण्डलमाथि कारबाही गर्न महासंघ केन्द्रीय समितिको माग

अध्यक्ष मण्डलमाथि कारबाही गर्न महासंघ केन्द्रीय समितिको माग
न्यूज टुडे
राजविराज,२४ साउन । 
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका लागि पुगेका पत्रकारलाई दुर्व्यवहार गर्ने राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहित संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । महासंघका महासचिव रोशन पुरीले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । 
अध्यक्ष मण्डलले पत्रकारमाथि गरेको दुर्व्यवाहार र समाचार संकलनमा पुर्याएको अबरोधप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ केन्द्रिय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुर्व्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ” महासचिव पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
समाचार संकलनमा पुगेका पत्रकारहरुलाई बन्धक बनाउनु, कुटपिट गर्ने प्रयास गर्नु समाचार संकलनमा अबरोध पुर्‍याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य कुनै किसिमले सह्य हुन नसक्ने महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
“महासंघ सप्तरी शाखाका अनुसार साउन २२ गते मंगलबार समाचार संकलनका लागि उक्त गाउँपालिका पुगेका महासंघ सप्तरीका सचिव एवं कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्य विद्यानन्द रामलगायतलाई पालिका अध्यक्ष मण्डलको प्रत्यक्ष संलग्नतामा दुर्व्यवहार र समाचार संकलनमा अवरोध गरिएको थियो” महासचिव पुरीद्वारा जारी विज्ञतिमा भनिएको छ,”सो क्रममा पत्रकारको परिचय दिँदादिँदै गापा अध्यक्ष मण्डलले ‘मेरो अनुमती बिना यो कार्यालय कसरी प्रवेश गरेको‚ यो अफिसको मालिक म हो‚ मेरो आदेशबिना केही हुँदैन, मेरो आदेश बिना हाकिमको कार्यकक्ष किन प्रवेश गरेको’ भन्दै जंगिदै कुटपिटको प्रयाससमेत गर्नुका साथै उनका समर्थकहरुले कान्तिपुर टेलिभिजनको माइक खोसेर तीनैजना पत्रकारलाई करिब १० मिनेट थुनेर राखिएको शाखाले जनाएको छ ।”
“कुनै पनि सार्वजनिक विषयका समाचार र सूचनालाई नागरिक र सरोकारवाला निकायमा पुर्याउन भूमिका निर्वाह गर्ने पत्रकारलाई सघाउनुको साटो सार्वजनिक पदमा वहाल अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय, अशोभनीय र अमर्यादित छ” महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अध्यक्ष मण्डलको हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुर्याएको तथा प्रचलित कानुनको समेत उल्लंघन गरेको ठहर गर्दै घटनाको छानवीन गरी दोषीलाई कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।
“अध्यक्ष मण्डलको यो हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुग्नुका साथै प्रचलित कानुनको समेत उल्लंघन भएको महासंघको ठहर छ” विज्ञप्तिमा भनिएको छ,”महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।”
यसैगरी प्रेस मञ्च नेपाल केन्द्रिय समिति, मधेस प्रदेश समिति, आम संचार प्राधिकरण मधेश प्रदेश, नेपाल पत्रकार महासंघ सप्तरी, प्रेस मञ्च नेपाल सप्तरी, नेपाल प्रेस युनियनलगायतका संघसंस्थाले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
घटनाको कडा शव्दमा विरोध गर्दै उनीहरुले घटना संलग्न अध्यक्ष मण्डलसहितकालाई कानुनी कारबाही गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।