सप्तरीको सबै भन्दा ठूलो खेल मैदानका रुपमा रहेको राजविराज स्थित राजरंगशाला अहिले बेहाल अवस्थामा छ ।
पानी निकासको प्रबन्ध नरहेका कारण सामान्य वर्षामा पनि यो खेल मैदान जलमग्न बन्ने गरेको छ । मंगलबार बिहानको वर्षाले फेरि रंगशालालाई जलमग्न तुल्याएको छ । दक्षिणतर्फको भगवती पोखरीमा वर्षाको समयमा रंगशालाको थोरै पानी बगेर जाने गरेको भएपनि पोखरी भरिएको अवस्थामा भने उक्त पानी निकास पनि अवरुद्ध रहने गरेको छ । ठूलो क्षेत्रफल रहनाका साथै बाहिरबाट बगेर आएको पानी पनि यसै खेल मैदानमा पुगेर जम्ने गरेका कारण व्यवस्थित रुपले पानी निकासीको काम गर्न आवश्यक रहेपनि अहिलेसम्म केही नगरिएका कारण यसको अवस्था खस्कँदो छ । राजरंगशालाको स्तरोन्नतिको लागि समय समयमा बजेट उपलब्ध नगराईएको पनि होईन । माटो भर्ने, बत्ती व्यवस्था र तारले घेरबेर गर्ने काम केही वर्ष अघि गरिएको भएपनि पानी निकास हुने गरी काम हुन नसक्दा स्तरीकरणका नाममा गरिएको लगानीका बाबजुद पनि यो खेलमैदान बेहाल अवस्थामै छ । ठूला ठूला खेलकूद प्रतियोगिता खेलाडीका लागि खुलकुदको अभ्यास, ठूला ठूला आमसभा, महोत्सव लगायतका कार्यक्रम हुने गरेको यस रंगशालाका अवस्थामा सुधारको टड्कारो आवश्यकता छ । विभागीय मन्त्री रहेका समयमा आफ्ना कार्यकर्ता पाल्नका लागि कनिकाछरे जस्तो स–सानो बजेटबाट ठेक्का दिएर रंगशालाको स्तरीकरण नहुने कुरा विगतको अनुभवले समेत प्रमाणित गरी सकेको छ ।
त्यसैले यसको समग्र ठोस कामबाट अवस्थामा सुधारको आवश्यकता छ । पानी निकासको स्थायी प्रबन्धबाट नै यस कार्यको थालनी गर्न सकियो भने त्यो बढी प्रभावकारी हुनेछ ।