न्यूज टुडे
राजविराज, २३ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ फत्तेपुरका पृतम पासवानको परिवारमाथि साँघातिक आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाइएको छ । दलित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुले बुधबार संयुक्त रुपमा प्रजिअ मंग्राती मार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा विभिन्न राजनीतिक आवरणमा अपराधिमाथी कानुनी कारबाहीका लागि प्रहरीले तदारुकता नदेखिएकोले घटनामा संलग्न जोकोहीलाई पनि अविलम्ब पक्राउ गरी कारबाहीको लागी जोडदार माग गरिएको छ ।
“सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवानका परिवारमाथि पूर्वक्षेत्रपाल हरिसुदन यादवलगायतले घरेलु हतियारद्वारा आक्रमण गरे” ज्ञापनपत्रमा उल्लेख गरिएको छ, “जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाका ७ जना आरोपीविरुद्ध असार ११ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । तर अहिलेसम्म एकजनालाई पनि पक्राउ गरिएको छैन ।”
घटनामा संलग्न व्यक्तिहरु विभिन्न राजनीतिक दल आवद्ध रहेको कारण खुलेयाम हिडडुल गर्दा समेत प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न डराइरहेको ज्ञापनपत्रमा आरोप लगाएको छ ।
“घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दल आबद्ध रहेका कारण प्रहरीले आरोपीलाई पक्राउ गर्न डराइरहेको छ । जबकि आरोपितहरू गाउँमै खुलेयाम हिँडिरहेका छन् र उल्टै मुद्दा दर्ता गरेको भन्दै पीडित पक्षलाई धम्क्याइरहेका छन्” दलित संघसंस्थाद्वारा सिडिओलाई बुझाएको संयुक्त पत्रमा भनिएको, “यस्तो अवस्थाले पीडितहरू एकातिर पीडकहरूकै धम्की सहन बाध्य छन् भने अर्कोतिर मजदूरी गर्ने सिजनमा परिवारमाथि नै सांघातिक हमला भएकाले खान÷लाउनै नपाउने अवस्थामा पुगेका छन् ।”
पासवान परिवारलाई उठिबास लगाउने नियतबस घटाना घटाएको आरोप उनीहरुले सिडिओलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
“पासवान परिवार करिब २० वर्षदेखि सो ठाउँ (पोखरीको डिल) मा बस्दै आएका छन् । उनीहरूको अन्यत्र जमिन पनि छैन । अर्थात भूमिहीन हुन् । बाटो विस्तार गर्ने निहुँमा आफ्नो घर भत्काउन खोजिएपछि पासवान परिवारले रोकेका थिए ” प्रजिअ मार्फत गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “त्यही क्रममा पासवान परिवारलाई हरिसुदन यादव, रोशन यादव, निरज कुमार यादव, रामनारायण यादव, विवेक यादव, ऋषि यादव भन्ने कृष्णानन्द यादव, रोहित यादवलगायत ११–१२ जनाको समूहले खुकुरी, लाठी, चिर्पट, हँसिया, फलामका रडलगायत घरेलु हतियारसहित आक्रमण गरेका थिए । ”
उनीहरुकोको आक्रमणबाट घाइते भई उपचारमा तीन लाखबढी खर्च हुँदा समेत अहिलेसम्म खर्च समेत उपलब्ध नगाएको ज्ञापनपत्रमा ध्यानाकर्षण समेत गराइएको छ ।
“यादव समुहको आक्रमणबाट प्रितम पासमान, मुसनीदेवी पासमान, रञ्जित पासमान, सरितादेवी पासमान, रितु पासमान, राखी पासमानलगायत घाइते भए । परिवारका सबै सदस्य अस्पताल भर्ना भए” ज्ञापनपत्रमा भनिएको छ,”औषधि उपचारमा ३ लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ । आक्रमणबाट घाइते भएकाहरू उपचारका लागि स्थानीय उमाकान्त कल्पना मेमोरियल हस्पिटलमा गएकामा त्यहाँ उपचार सम्भव नभएपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएका थिए ।”
अपराधिको दवाव र प्रभावमा परी घटना भएको ९ दिनसम्म प्रहरी उजुरी सम्म लिन नमानेको ज्ञापनपत्रमा आरोप लगाइएको छ ।
“घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका पासमान परिवारको ९ दिनसम्म त उजुरीसमेत लिइएन । राष्ट्रिय दलित आयोग र दलित अधिकारकर्मीहरूको निरन्तर दबाबपछि बल्ल उजुरी दर्ता भएको थियो” ज्ञापनपत्रमा अगाडि लेखिएको छ, “६ जनाको परिवारमा आक्रमणका कारण ४ जनाको अवस्था गम्भीर थियो । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुशेश्वरप्रसाद यादवले समेत राजनीतिक दबाब र प्रभावमा परेर प्रहरीले आरोपितहरूलाई पक्राउ नगरेको बताएका छन् । उनको घर नभत्काइकन पनि बाटो बनाउने सम्भावना हुँदाहुँदै दलित भूमिहीनको घर भत्काउन खोज्नु अमानवीय व्यवहार भएको वडाध्यक्षकै समेत भनाइ छ ।”
“त्यसैले सांघातिक आक्रमणमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न, औषधि उपचारको खर्च भराइदिने व्यवस्था मिलाइदिन र आगामी दिनमा आक्रमण नगर्ने तथा आफ्नो घरमा शान्तिपूर्वक बस्न पाउने व्यवस्था सुनिश्चित गरिदिन श्रीमान्समक्ष यो ज्ञापनपत्र पेस गरेका छौँ” दलित अधिकारकर्मीहरुद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“श्रीमानसमक्ष यसै गरी सप्तरी जिल्लाको विभिन्न काल खण्डका घटनाहरु भइरहेको अबगत गराउन चाहन्छौं । यसै सन्दर्भमा सप्तरी रुपनी गाउँपालिका वडा नम्बर ३ मिटर ब्याजी पिडित रुन्द्धीलला मोचीलाई पिडक जगदिश साह र लिला देवी शेठबाट जग्गा फिर्ता गराइ न्यायका लागि सादर अनुरोध छ ” प्रजिअ मंग्रातीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी सोही ज्ञापनपत्रमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी वविता इसरले जन्म दर्ता कृते मुद्दा चलाउंँदा कुनै सुनुवाइ नभएको भन्दै कारबाहीको जोडदार माग गरिएको छ
“सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ अन्तरजातिय विवाह पिडित जितु रामको छोरा मनोज रामले न्याय पाउनुका साथै अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका केटीपक्षका वविता इसरले मेरो जन्ममिति ठिक उमेर पुगेको भन्दै अपनो बुबा र आमालाई कृते मुद्धा दिएकोले हालसम्म कुनै किसिमको सुनुवाई नभएकोले कार्यवाहीका लागि जोडदार माग गर्दछौं” ज्ञापनपत्र उल्लेख छ ।
जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, मधेस प्रदेश,मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, जनकपुर, राष्ट्रिय दलित आयोग, काठमाडौँ,
दलित विकास समिति, मधेस प्रदेशलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा दलित सरोकार मञ्च नेपाल,सप्तरीका कार्यकारी निर्देशकभोलाकुमार पासमान, नेपाल राम समाजका केन्द्रिय अध्यक्ष प्रथमलाल राम, नेपाल राउत मेहतर उत्थान समाजका केन्द्रिय अध्यक्ष मनोज राउत, जसपा नेपाल सप्तरीका जिल्ला सदस्य कामेश्वर यादव, नेपाल उत्पीडित जातिय मुक्ति समाजका डिक बहादुर विश्वकर्मा, नेपाल राम समाज सल्लाहकार सुखदेव राम, पिडित रुन्द्धीलाल मोचीले हस्ताक्षर गरेका छन् ।
यसैगरी जगतगुरु सन्तगिरीमणी रविदासका अध्यक्ष सिताराम राम, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासवान, नेपाल राम समाजका संगठन विभाग प्रमुख रुन्द्धीलाल राम, मजदुर संघ (ने.क.पा. विपलव) का रामकृष्ण मण्डल,पिडित उत्थान युवा क्लव,सप्तरीका प्रतिनिधि रामनाथ राम, सियाराम पासमान, नेपाल राम समाजका गापा अध्यक्ष किसुनदेव राम, नेपाल उत्पीडित जातिय मुक्ति समाज सप्तरीका अध्यक्षगेहेन्द्र प्रकाश राम, डाक्नेश्वरी न.पा वडा नं.६ का रंजित कुमार पासवान, दलित जागरण समाज सेवा समितिका अध्यक्ष जितु रामले संयुक्त हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्र उठाएको माग जायज भएको भन्दै प्रजिअ मंग्रातीले आफुबाट हुने कुरा यहिबाट सम्बोधन गर्ने तथा ज्ञापनपत्र जस्ताकै त्यस्तै तुरुन्तै गृहमन्त्री समक्ष पठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।