न्यूज टुडे
राजविराज, २२ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारमाथि अभद्र व्यवहार गर्ने राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलमाथि कडा कारबाहीको माग गरेका छन् । महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिपोर्टिङका लागि पुगेका पत्रकारमाथी दुर्व्यवहार गर्ने अध्यक्ष मण्डलमाथि हदैसम्मको कारबाहीको माग गरेका हुन् ।
समाचार संकलनका लागि गाउँपालिका पुगेका पत्रकारहरुमाथि अध्यक्ष मण्डलले गरेको दुर्व्यवहार घोर निन्दनीय र आपत्तिजनक रहेको ठहर गर्दै उक्त घटनाको महासंघले भर्त्सना गरेको छ ।
“सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीयवासिन्दा र गाउँपालिकाका बुहमत जनप्रतिनिधि संयुक्त रुपमा चरणबद्ध आन्दोलन गर्दै आएको जगजाहैर नै छ” अध्यक्ष देवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “सोही विषयलाई लिएर मंगलबार समाचार संकलनका लागि पुगेका महासंघका सचिव एवम् कान्तिपुर टिभि संवाददाता रामनारायण विश्वास, महासंघका कोषाध्यक्ष नवीनकुमार गुप्ता, महासंघका सदस्य विद्यानन्द राम लगायतलाई गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलको प्रत्यक्ष संलग्नतामा समाचार संकलनमा अवरोध पुर्याउने, समचार उपकरण खोस्ने, कोठामा थुन्ने र दुर्व्यवहार गर्ने कार्य भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”
अध्यक्ष देवद्वरा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसंग जोडदार माग गरिएको छ ।
“सर्वप्रथम उक्त घटनाको घोर भर्त्सना र निन्दा गर्दै दोषिलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं । सार्वजनिक ओहदामा पुगेपछि त्यसको मर्यादा राख्नु जोसुकैको पदीय दायित्व हो ।” महासंघद्वरा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “तर यसमा अध्यक्ष मण्डल पूर्ण रुपमा चुकेको र प्रेस बिरोधी गतिबिधीका साथै तानाशाही ब्यबहार देखाएको हाम्रो ठहर छ ।”
“अध्यक्ष जस्तो पदमा बसेका व्यक्तिद्वारा कानुनले बन्देज गरेको कार्य गरिनु अत्यन्त आपत्तिजनक र अशोभनीय कार्य हो । तसर्थ उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई अविलम्ब कडा कारवाही गर्न माग गर्दछौं ।” अध्यक्ष देवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।