• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पानीको निकास नहुंँदा राजरंगशाला जलमग्न

पानीको निकास नहुंँदा राजरंगशाला जलमग्न
रामनाथ यादव
राजविराज,२२ साउन ।
पानीको निकास नहुँदा सप्तरीको राजविराज नगरपालिका स्थित रहेको राजरंगशाला जलमग्न भएको छ । सोमबार रातीदेखी भएको अविरल वर्षाको कारण रंगशालामा पानी जमेर पाेखरी वनेकाे हो।
स्थानीय जनप्रतिनिधिहरुकाे लापरबाहीले राजरंगशालाकाे अवस्था दिन प्रतिदिन जीर्ण वन्दै गएकाे स्थानीयले बताए । 
“वर्षाै वर्ष देखि रंगशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रंगशाला बटुवाहरुको खुला शौच गर्ने स्थल बनेको छ”, एक स्थानीयले भने,”साेहि रंगशालाकाे संरचना समेत जीर्ण हुँदै गएपछि अहिले  रंगशाला गौचरमा परिणत भएको छ ।”
 स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उदासिनताले राजरंगशाला जरजर अबस्थामा पुगेको स्थानीयको आरोप छ । 
रंगशालाको पूर्वी भागको प्याराफिटमुनी करिब १५ विपन्न परिवारले कोठा बनाई प्रयोग गर्दै आएका कारण खेलकुद प्याराफिट वनाउन समस्याको रुपमा देखिएकाे स्थानीहरु बताउँछन् । 
राजविराजमा  विभिन्न खेलकूद प्रतियोगिताको आयोजना हुने गरेकाे , रंगशालामा औद्योगिक मेला र राजनीतिक दलको सभा गर्ने स्थलको रुपमा समेत रहेपनि यसको संरक्षण , मर्मत, सम्भार र सुरक्षातर्फ सम्बन्धीत निकायले कुनै  चासो नदिएकाे स्थानीयकाे आराेप रहेको छ।
अहिलेे रंगशाला खेलाडीले  खेल खेल्ने नभई गाई बस्तु चराउने  गौचरन र घाँस काट्ने स्थानका रुपमा परिणत भएको स्थानीयकाे  भनाइ छ ।
राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकूद विकास समितिलाई यसको स्वामित्व हस्तान्तरण गरिसकेको भएपनि समितिले यसको मर्मतसम्भार र संरक्षण गर्न नसकेको आरोप नगरवासीको छ । रंगशाला अतिक्रमित स्थान पनि नगरपालिकाले खाली गराउन नसकेको  स्थानीयले बताएको छ ।
जीर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठूलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक त्यहाँको बस्ती खाली गराउन जादाँ दुर्घटना भए हामी आफैं जिम्मेवार हुनेछौं भनेर त्यहाँका बासिन्दाले जवाफ फर्काउने गरेको स्थानीय बताउछन् । 
२०३६ सालमा निर्माण भएको राजरंगशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ । दुई विगहा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रंगशालामा कूल सात हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ । 
आवश्यक रेखदेख र संरक्षण नहुँदा वर्षायाममा रंगशाला जलमग्न हुने गरेका छन् ।”पानीकाे ढल व्यवस्थापन र पानीको निकास नहुँदा वर्षायाममा खेलमैदान पानी नै पानीले भरिएको हुन्छ । तर यसप्रति कसैको ध्यान जानसकेको छैन् । “एक स्थानीयले भने ।