• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकार धम्क्याउने मण्डल पक्राउ
न्यूज टुडे
राजविराज, १७ साउन ।  
समाचार लेखेकाे निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका काेषाध्यक्ष एवम् राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिने अभिषेक मण्डल पक्राउ परेको छ । सप्तरीको महदेवा गाउँपालिका  ६ ढिकलीका मण्डल बिहिवार पक्राउ परेको हो ।  
उनलाई राजविराजबाट बिहिवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी आबश्यक अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
महासंघले आन्दोलन घोषणा गरेपछि प्रहरीले सक्रियता देखाउन साथ उनी पक्राउ परेका छन् । 
मण्डललाई प्रहरीले पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीले बुधबार चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।  
 ज्यान मार्ने धम्की दिने  मण्डलमाथि कानुन बमोजिम कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा महासंघले लिखित पत्राचार गर्दा समेत प्रहरी गम्भीर नदेखिएकोले आन्दोलन गर्नु बाध्य भएको जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो  । 
महासंघको आन्दोलनका कार्यक्रम अनुसार  जिल्ला प्रशासन कार्यालयमा बिहीबार(१७ साउन) ज्ञापन पत्र बुझाउने, शुक्रवार(१८ साउन)देखि सप्तरी प्रहरीकाे समाचार बहिष्कार गर्ने,शुक्रवारै(१८ साउन)देखि हातमा कालाे पट्टि बाँधेर सप्तरीका पत्रकारले काम गर्ने रहेको छ ।
महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलनबाट समेत सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रनु बाध्य हुने  सचिव विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा चेतावनी समेत  दिईएको छ । 
यस अवधिमा पनि पत्रकार धम्काउने मण्डलमाथि प्रहरीले कारबाही नथालिए दाेश्राे चरणकाे थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुने जानकारी गराउँदछु जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 
विज्ञप्तिमा यस अघि जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदा उक्त क्रममा सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले बुधवार(१६ साउन)सम्म कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरेपनि त्याे बमाेजिम हुन नसकेको जनाइएको छ । 
“यस प्रकरणमा ‘राजनीति’ गन्धसमेत हामीलाई आभाष भएको छ, “अत: पत्रकार महासंघकाे पहिलाे प्राथमिकता पत्रकारकाे सुरक्षा नै भएकाे र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएको हुँदा पहिलो चरणकाे संघर्षको कार्यक्रम घाेषणा गरेका छौ ।” महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको थियो ।