किसानले गरेको उत्पादनमा उचित मूल्य नपाएको भनि उठ्ने गरेको गुनासो नयाँ होईन । खाद्यान्नदेखि तरकारी र दूधसम्ममा उचित मूल्य नपाएपछि घाटा लगाएरै उत्पादन बेच्नु पर्ने उनीहरुको बाध्यता रहने गरेको छ । अरु सबैले आफ्ना सामानको मूल्य निर्धारण गरे पनि किसानले गरेको उत्पादनको मूल्य चाहिँ अरुले निर्धारण गर्ने परम्परा छ ।
किसानले आफूले मूल्य तोक्न पाए कम्तिमा लागत नउठ्ने गरी त तोक्ने थिएनन् होला । तर उनीहरुले तोकेको मूल्यमा सामान बिक्री नभएपछि बाध्य भएर घाटा सहेरै भए पनि उत्पादन नबेची धर पाउने गरेका छैनन् । यही बाध्यताका वीच बिचौलियाको चलखेल हुने र उनीहरुले किसानको उत्पादन किन्ने नाममा किसानका समस्या भन्दा पनि आफूले फाईदा लिने सोचले काम गर्ने गरेको पाईन्छ । सस्तोमा किन्ने अनि अत्यधिक मुनाफा राखेर किसानको उत्पादन बेच्ने गरेका कारण एकातिर किसान मर्कामा परे पनि बिचौलियाले अत्यधिक कमाई गर्ने र किनेर खाने आम उपभोक्ताले पनि चर्को मूल्य तिर्नु पर्ने अवस्था छ । बिचौलियाले एकातिर अत्यधिक कमाउने अनि किसानले घाटा लगाएरै उत्पादन बेच्नु पर्ने बाध्यता कसरी समाप्त हुन्छ भन्ने विषयमा नसोच्ने हो भने यसले किसानलाई हतोत्साहित त बनाउँछ नै । यसका साथै किनेर खाने उपभोक्ताले चर्को मूल्य तिर्नु पर्ने भएका कारण यसले महँगी बढाउनमा नै योगदान दिने कुरामा आशंका मान्नु नपर्ला ।
सरकार एकातिर महँगी नियन्त्रणको कुरा गर्छ । तर अर्कोतर्फ यसरी बिचौलियाको खेल रोक्नेतर्फ ध्यान नदिईएका कारण सरकारको भनाईमा कसरी तालमेल हुन सक्ला ?