सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहा खोलामा जाली क्रेटको काममा मिलोमतोबाट ब्यापक अनियमितता गरिएको भनी जनगुनासो उठ्न थालेको छ ।
आर्थिक वर्ष समाप्त भए पनि कमिशनको खेलमा अझै काम जारी राखेर अनियमितता गरिएको स्थानीय वासिन्दाहरुले आरोप लगाउन थालेका छन् । उनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को बजेटबाट सुरु गरिएको जाली क्रेट बाँध्ने काम सोही आर्थिक वर्षभित्रै सम्पन्न भई सक्नु पर्नेमा भुक्तानी चाहीँ मिलान गरेको र काम भने अहलेसम्म पनि चलि नै रहेको दावी गरेका छन् । काम सम्पन्न गर्ने समयावधि भित्र पूरा गरेर नियमानुसार भुक्तानी लिनु पर्ने प्रावधानको उल्लंघन गर्दै अहिलेसम्म काम चलिरहनुको पछाडि मिलोमतो र कमिशनको खेल रहेको उनीहरुको आरोप छ । कामै नगरीकन पहिले नै भुक्तानी दिनु कदापि मिल्ने कुरा हुन सक्दैन । यसलाई अनियमितता नै भन्नुपर्दछ । आर्थिक वर्ष सकिने समयमा अन्तिममा आएर काम सुरु गर्ने अनि भुक्तानी चाहीँ कामै पूरा नभईकन उठाउनु भनेको सरासर अनियमितता नै हो । यस्तो अनियमिता मिलिभगत बिना सम्भव हुँदैन । विकास निर्माणका क्रममा हुने यस्ता अनियमितता रोक्नका लागि भईरहेको कामको समय समयमा अनुगमनको आवश्यकता रहन्छ । अनुगमन तथा मुल्यांकन गर्ने निकायको सिफारिस र सहमति बिना भुक्तानी सम्भव नहुने प्रावधान रहँदा रहँदै कामै पूरा नभईकन त्यसको भुक्तानी कसरी भयो ? जनस्तरबाट उठ्न थालेको प्रश्न हो यो ।
अतः उक्त कामका बारेमा के कसो भएको हो भन्ने कुराको अनुगमनमा चासो लिएर वास्तविकता जनसमक्ष पु¥याउनु पर्ने अहिलेको आवश्यकता भएकोले सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी देखिन्छ ।