न्यूज टुडे
राजविराज, १५ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवामा सयौं बिघामा लगाएको केराको थम (बोट) सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन्।
लाखौं लगानी गरेर लगाएको केरा खेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि किसानहरु चिन्तित भएका हुन् ।
गत असारको अन्तिम हप्ता अविरल बर्षसंगै सप्तकोशीमा पानीको बहाव उच्च भएपछि केरा बगान डुवानमा परेको किसानहरुले बताए ।
“निरन्तरको बर्षाले खेरा बगान डुवानमा परेपछि बोटै सुक्न थालेको छ, किसान धर्मी प्रसाद यादवले भने, पानीले केराको थम ( बोट) सुक्ने र केराको घरीमा क्षति पुग्ने हुँदा उत्पादनमा कमि आउने भएकोले लगानी खेर जाने निश्चित छ ।”
अर्का किसान महेश राउतले बाढी पसेर केराको बोट सुक्दा लाखौं क्षति भएको बताए । बैकबाट ॠण काढेर गरेको लगानी खेर जाँदा परिवारको बिल्लीबाठ भएको दुखेसो सुनाए ।
किसान बचेन्द्र यादवले प्रत्येक बर्ष बाढी पसेर केरा खेतीमा क्षति हुँदा आफुहरु साह्रै मारमा परेको बताए । किसानलाई समस्या पर्दा कसैले सहयोग नगरेको उनले गुनासो गरे ।
मुख्य आमदानीको रुपमा लगाएको केरा खेतीमा विभिन्न रोगको प्रकोपले समस्या खेपिरहेका किसानहरु बाढीको चपेटामा परेपछि थप चिन्तामा डुबेको स्थानीय युवा नेता अजय कुमार यादवले जानकारी दिए ।