नेपाल पत्रकार महासंघ सप्तरीले समाचार लेखेकै निहुँमा पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिनेमाथि कडा कारबाहीको माग गरेको छ । महासंघद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला काेषाध्यक्ष समेत रहेका पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिनेमाथि कडा कारबाहीको माग गरेको हो ।
सप्तरीको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा “महदेवामा कामै नगरी करोडौंको भुक्तानी” शिर्षकमा समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार गुप्ताले बताए ।
पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन जडेको भन्दै ज्यान मार्ने धम्की दिएका थिए ।
नेपाल पत्रकार महासंघ, सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार गुप्तालाई दिएको ज्यान मार्ने धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने प्रक्रिया हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु गलत भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
धम्की दिने मण्डललाई कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै कारबाही नगरिए आन्दोलनमा उत्रिने महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जारी गरेको विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार गुप्तालाई धम्की दिने मण्डललाई अविलम्ब पक्राउ गरी कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । महासंघले जिल्ला प्रहरी कार्यालयमा मंगलबार एक पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
धम्की दिने मण्डललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए संघर्षमा जान बाध्य हुने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यसैगरी नेपाल प्रेस युनियन सप्तरीले समेत पत्रकार गुप्तालाई धम्की दिनेमाथि कडा कारबाहीको माग गरेको छ । जिल्ला सह सचिब परिष कर्णले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार गुप्तामाथि दिइएको धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।