न्यूज टुडे
राजविराज, १५ साउन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया टोलमा मंगलबार विवादको वीच सडक ढलान गरिएको छ । वीच सडकमा खाली छोडेर बाँकी ठाउँमा सडक ढलान गरिएपछि विवाद उत्पन्न भएको हो ।
आर्थिक बर्ष २०८०/०८१ को गाउँपालिका स्तरीय योजना अन्तर्गत प्रदिप मुखियाको घरदेखी बलराम यादवको घरसम्म सडक ढलान योजनामा प्रदिप मुखियाको अगाडि छोडेर सडक ढलान कार्य गर्न थालेपछि विवाद उत्पन्न भएको स्थानीयले बताए ।
विचै भागमा छोडेर सडक ढलान कार्य शुरु गरेपछि बुझ्नजाँदा गाउँपालिकाको ५ लाखको योजनामा सडक निर्माण भएको त्यही टाँसिएको व्यानरबाट थाहा भएको स्थानीय राज कुमार मुखियाले बताए ।
योजना स्थलमा टाँगिएको व्यानरमा योजनाको नाम “प्रदिप मुखियाको घरदेखी बलराम यादवको घरसम्म सडक ढलान, निर्माण कम्पनीको नाम श्री आरपी कन्स्ट्रक्सन छिन्नमस्ता ७, योजनाको कुल लागत ४ लाख ९९ हजार ९ सय ६० स्वीकृत बजेट ५ लाख र सम्झौता मिति २०८१ /०२/ ०६ गते र काम सम्पन्न मिति २०८१ मात्र उल्लेख गरी खाली छोडिएको पाइएको उनले जानकारी दिए ।
“आर्थिक बर्ष सकिएपछि काम गर्न थालिएको छ, त्यसमा पनि व्यानरमा उल्लेख भएको अनुसारको ठाउँबाट काम भएको छैन, मुखियाले भने, मध्य भागमै अधुरो छोडेर ढलान गरिएको छ, असार २४ गते नै योजना अन्तिम भुक्तानी लिईसक्नुपर्ने अहिले कसले उक्साएर कसरी भुक्तानी लिने हिसावले काम गरेको हो, हामी बुझ्न चाहन्छौं ।”
व्यानरमा उल्लेख गरिए अनुसार काम नभएपछि आफैमा झडपको अवस्था आएकाले गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए ।
“वडा अध्यक्ष अमर मुखियाको प्रयास विफल भएपछि गाउँपालिका अध्यक्ष ज्युलाई धेरै पटक बोलाउंँदा आएनन्” राज कुमारले भने, गाउँपालिका अध्यक्षले नै विवाद सिर्जना गराएकोले आउन नमानेको स्पष्ट बुझ्न सकिन्छ ।”
स्थानीय खुसलाल मुखियाले गाउँपालिका अध्यक्ष यादवको भोटर नभएकोले प्रतिशोधको भावनाले उहाकै निर्देशनमा विचैमा बाटो अधुरो छाडिएको आरोप लगाए ।
“गतबर्ष गाउँपालिकाको ५ लाख र वडा कार्यालयको ५ लाखको लागतमा कमलमियाँ हटियादेखि प्रदिप मुखियाको घरसम्म बाटो ढलान भयो” मुखियाले भने,”यसपालि गाउँपालिका स्तरीय बजेट विनियोजन गरी प्रदिप आफ्नो जात नभएकोले उसको अगाडि छोडेर सुर्यनारायण यादवको घारदेखि बलराम यादवको घरसम्मको सडक ढलान गरियो ।”
गाउँपालिका अध्यक्ष यादवको भोटर र आफ्नो जात नभएकोले मुखियामाथी यस्तो व्यवहार गरेको उनको भनाई थियो ।
स्थानीय खुशी राम यादवले बाटो निर्माण गाउँबाटै चन्दा उठाएर गरेको बताउंँदै गाउँपालिकाबाट एकपैसा नलिने बताए ।
रुपनी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमर मुखियाले गाउँपालिका स्तरीय कुनैपनि योजना आफ्नो वडामा संचालन गरिएको बारे आफुलाई थाहा नहुने बताए । उनले पालिका स्तरीय योजना बारे आफुसंग कसैले समन्वय नगरेको बताउंँदै सडक ढलान बारे बुझ्दा आफ्नै लगानीमा गरेको भनेपछि आफूले उनीहरुलाई केही जवाफ दिन नसकेको प्रतिक्रिया दिए ।
रुपनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् तत्कालीन योजना शाखा प्रमुख रघुनन्दन यादवले श्री आरपी कन्स्ट्रक्सनसंग सडक ढलानको सम्झौता भएको बताउंँदै तोकिएको समयमा योजना सम्पन्न नगरिएकोले कुनै पनि भुक्तानी नदिएको दावी गरे । पछिल्लो समय सडक ढलनका लागि कसैलाई पनि कार्यादेश नदिएको बताउंँदै उनले उक्त योजनामा बजेट भुक्तानी नहुँने जिकिर गरे ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले गाउँपालिका अन्तर्गतको योजना भएको स्वीकार गर्दै पालिकासंग गरिएको सम्झौता अनुसार काम गर्न नसकेकोले बजेट फ्रीज भएको बताए । आफुले विवाद उत्पन्न गराएको भन्ने स्थानीयले लगाएको अरोपमा कुनै सत्यता नरहेको जिकिर गर्दै उनले कार्यव्यस्तताले उपस्थिति जनाउन कठिनाई भएकै हो भन्दै यसबारे जस्तोसुकै कसम खान आफू तयार रहेको बताए ।
कसैले व्यक्तिगत लगानीमा सार्वजनिक स्थानको विकास गर्नु राम्रो काम भएको बताउंँदै उनले गाउँपालिकासंग समन्वय नगरी कसैले गरेको काममाको भुक्तानी नहुने समेत स्पष्ट पारे ।