• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैध-प्रकाश पुरस्कारबाट चौधरी र उर्मिला देवी पुरस्कारबाट साह सम्मानित हुने

बैध-प्रकाश पुरस्कारबाट चौधरी र उर्मिला देवी पुरस्कारबाट साह सम्मानित हुने
न्यूज टुडे
राजविराज, १३ साउन । 
सप्तरीमा दुईजना मानवाधिकारकर्मी पुरस्कृत हुने भएका छन् ।  प्रत्येक बर्ष प्रदान गरिने बैध- प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौताका दिलिप कुमार चौधरी र उर्मिलादेवी झा पुरस्कारबाट राजविराज ३ की सुनिता साह सम्मानित हुने भएका हुन् । 
मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृतिमा प्रदान गरिने नवौं बैध-प्रकाश मानवअधिकार पुरस्कार यस बर्ष दलित अधिकारको क्षेत्रमा योगदान गरेका चौधरीलाई दिने निर्णय भएको पुरस्कार स्थापना कोषका संयोजक बैधनाथ झाले बताए । 
पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले चौधरीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । 
२०७१ सालमा इन्सेकद्वारा पत्रकार तथा मानवाधिकारकर्मी बैधनाथ झालाई ५० हजार राशी सहितको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरेपछि सोही रकम र आमाको सामाजिक सुरक्षा भत्ता बापत प्राप्त हुने १ लाख समेत गरी २०७२ सालमा झाले बैध-प्रकाश मानवाधिकार पुरस्कार स्थापना गरेका थिए । उक्त पुरस्कारको राशी ७ हजार १ सय १ रुपियाँ छ भने प्रमाणपत्र र दोसल्लाबाट सम्मानित गरिने छ । 
यसअघि २०७३ सालमा पहिलो पटक बलदेव राम, युक्तिलाल मरिक, असर्फी सदा, रुवि कर्ण, अनिता देवकोटा, मनोहर पोखरेल, हितनारायण लाल दास र थानसिंह भन्साली यस पुरस्कारबाट विभुषित भइसकेका छन् । 
नगद राशीसहित प्रमाणपत्र, दोसल्लाबाट सम्मानित गरिने यो पुरस्कार विमान दुर्घटनामा निधन भएका इन्सेकमा महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृति दिवसको अवसरमा प्रदान गर्दै आएको कोषका संस्थापक झाले जानकारी दिए । 
यसैगरी प्रेस स्वतन्त्रता सेनानी झाद्वारा आफ्ना भई बुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रदान गर्दै आएको पाँचौ उर्मिला देवी मैथिल गीत गायन पुरस्कार राजविराज ३ की सुनिता साहलाई प्रदान गरिने भएको छ । दुई हजार ५ सय रुपियाँ राशी रहेको पुरस्कार यस बर्ष मैथिली लोक गायिका साहलाई प्रदान गर्ने निर्णय भएको मैथिली महिला परिषदकी पुर्व अध्यक्ष शान्ति झाले जानकारी दिइन् । 
मैथिली महिला परिषदको शनिबार सम्पन्न बैठकले लोक गायनको माध्यमबाट मैथिली भाषा, संस्कृतिको जगर्नामा महत्त्वपूर्ण योगदान गरेकोले साहलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिइन् । 
यो पुरस्कारबाट नगद राशीसहित प्रमाणपत्र र दोसल्ला ओढाएर मधु श्रावणी पर्वको अवसरमा प्रत्येक बर्ष एक जनालाई सम्मान गर्दै आएको पुरस्कारका संस्थापक झाले जानकारी गराए । 
झाको भाइ बुहारी उर्मिला देवी पाँच बर्ष अगाडि मधु श्रावणी पर्वको लागि सामान लिन भनी विराटनगर गएको बेला एम्बुलेन्सको ठक्करबाट निधन भएकी थिइन् । उनकै स्मृतिमा स्वर्गीय झाका जेठाजु प्रेस स्वतन्त्रता सेनानी झाले उर्मिला देवी झा पुरस्कार कोष स्थापना गरी प्रत्येक बर्ष मैथिली महिला परिषदको सिफारिसमा एकजनालाई पुरस्कार प्रदान गर्दै आएका छन् ।