न्यूज टुडे
राजविराज, १३ साउन ।
सप्तरीको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले अनियमित तरिकाले तलव भत्ता बुझ्ने गरेको खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवसहित पाँचजना कर्मचारीहरुलाई अनियमित तरिकाबाट लाखौं तलव भत्ता भुक्तानी दिने गरेको खुलासा भएको हो ।
गाउँपालिकाले आफू अनुकुल दरबन्दी भन्दा बढी कर्मचारी अन्य पालिकाबाट बोलाएर अनियमित तरिकाले ३२ लाख २१ हजार ६ सय २४ रुपियाँ भुक्तानी दिएको पाइएको छ ।
स्वास्थ्य शाखा अन्तर्गत कार्यरत कर्मचारी स्वीकृत दरबन्दी अनुसार पुर्ण हुंँदा पनि दरबन्दी भन्दा बढी अन्य अन्य पालिकामा कार्यरत सिनियर अहेव छैठौ तहका यादवलाई बोलाएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । ऊनीसहित दरबन्दी भन्दा बढी कर्मचारीलाई भुक्तानी दिएको रकम अनियमित भएको महालेखाको प्रतिबेदन २०८१ले ठहर गरेको छ ।
महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत पाएका स्वास्थ्य शाखाका प्रमुख सिनियर अहेव छैठौ यादवले प्रतिमहिना ५७ हजार ३७ रुपियाँको दरले ७ लाख ४१ हजार ४ सय ८१, सिनियर अहेव राजनारायण यादवले प्रतिमहिना ५७ हजार ३७ रुपियाँको दरले ७ लाख ४१ हजार ४ सय ८१ तलब बुझेका छन् ।
यसैगरी ( २०८० माघपछी दरबन्दी परेको) सिनियर अहेव छैठौ नारायण प्रसाद चौधरीले प्रतिमहिना ५७ हजार ३७ को दरले ३ लाख ९९ हजार २ सय २९ रुपियाँ, सिनियर अहेव छैठौं राम कुमार भगतले प्रतिमहिना ७ लाख ४१ हजार ४ सय ८१ रुपियाँ, अनमी पाँचौ प्रमिला खेरवारले प्रतिमहिना ४५ हजार ९ सय ९४ को दरले ५ लाख ९७ हजार ९ सय २२ रुपियाँ बुझेका छन् ।
गाउँपालिकाले स्वास्थ्य अन्तर्गत कार्यरत कर्मचारीहरु स्वीकृत दरबन्दी अनुसार पुर्ण हुँदा पनि निर्णय गरेर दरबन्दी भन्दा बढी कर्मचारीहरुलाई अन्य पालिकाबाट समायोजनमा बोलाएर कोष तथा लेखा नियन्त्रक कार्यालयबाट १८ नम्बर प्रमाणित गरी तलवभत्ता दिएको नियम सम्वत नभएको महालेखाको प्रतिबेदनले औल्याएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले व्यक्तिगत स्वार्थ पूरा गर्ने नियतबस अन्य पालिकामा कार्यरत दरबन्दी भन्दा बढी कर्मचारी बोलाएर विभिन्न महत्त्वपूर्ण जिम्मेवारी दिएको एक जनप्रतिनिधिले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले आफू जिम्मेवारीमा आउनुभन्दा पहिले नै ती स्वास्थ्यका कर्मचारीहरु गाउँपालिकामा कार्यरत रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृतसहितको आबश्यक कर्मचारीको लागि आफै संघीय सरकारको सम्बन्धित मन्त्रालयमा पटकपटक धाउंँदा समेत सुनुवाइ नभएपछि स्वास्थ्यका छैठौं तहका यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको उनले बताए ।