न्यूज टुडे
राजविराज, ११ साउन ।
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवसहित पदाधिकारीले अनियमित रुपमा विभिन्न शिर्षकमा लिएको दोहोर सुविधा असुल गर्न महालेखाले सुझाव दिएको छ । अतिथि सत्कार, इन्धन, बैठक भत्ता, स्वकीय सचिब लगायतका विभिन्न शिर्षकमा तोकिएको भन्दा बढी सुविधा अध्यक्ष यादवसहितका पदाधिकारीले लिएको ठहर गर्दै महालेखाले उनीहरुबाट असुल गर्न सुझाव दिएको हो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि ऎन २०७७ विपरीत अध्यक्ष यादवसहितका जनप्रतिनिधिले दोहोरो सुविधा बापत लाखौं अनियमितता गरेको महालेखाले ठहर गरेको छ ।
महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० अनुसार गाउँपालिका अध्यक्ष यादवले अतिथि सत्कारको नाउँमा मात्र तोकिए रकमभन्दा बार्षिक ३ लाख १८ हजार, ४ सय ४१ रुपियाँ बढी सुविधा लिएका छन् । पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि ऎन २०७७ अनुसार अध्यक्षलाई अतिथि सत्कारका लागि माशिक १५ हजारको दरले दिने व्यवस्था गरेको छ तर अध्यक्ष यादवले त्यस बाहेक विभिन्न मिष्ठान भण्डार तथा होटललाई दिएको सिलिप र आदेश अनुसार थप अतिथि सत्कार बापतको लाखौं रकम लिएका छन् ।
अध्यक्षको आदेश अनुसार शम्भुनाथ मिष्ठान भण्डार एण्ड होटलले १ लाख ७२ हजार ५ सय ६३, अजय होटल रुपनीले ४७ हजार १०, जय माँ रुपनी मिष्ठान भण्डारले ४८ हजार ८ सय ८० र शम्भुनाथ एग्रीकल्चर एण्ड एनिमल फर्म प्रा. ली. ले ४९ हजार ८८ रुपियाँ भुक्तानी लिएका छन् ।
यसैगरी अध्यक्ष यादव, उपाध्यक्ष, वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले इन्धन, बैठक भत्ता, सवारी साधान र स्वकीय सचिबको नाममा लाखौंको दोहोरो सुविधा लिएको महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० मा उल्लेख छ ।
“स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धि ऎन २०७७ विपरीत जनप्रतिनिधिहरुले दोहोर सुविधा लिएको देखिन्छ” महालेखाको प्रतिबेदनमा भनिएको छ, मधेश प्रदेश सरकारको स्थानीय पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धि ऎन २०७७ अनुसार अध्यक्षलाई अतिथि सत्कारका लागि माशिक १५ हजार, उपाध्यक्ष र वडा अध्यक्षलाई १० हजार निजको तलवभत्तामा दिने व्यवस्था छ, उक्त रकम अध्यक्ष यादवले एकमुष्ठ माशिक सेवा सुविधा मार्फत बुझेको देखिन्छ” प्रतिबेदन अगाडि भनिएको छ, “श्रेस्ता परिक्षण गर्दा सो बाहेक गोश्वार भौचर र मितिहरुमा गाउँपालिका अध्यक्षको आदेश अनुसार थप अतिथि सत्कार रकम भुक्तानी भएको छ, अध्यक्ष यादवसहित पदाधिकारीसंग दोहोरो सुविधा वापतको रकम असुली गरी दाखिला गर्नुपर्छ ।”
यसबारे अध्यक्ष यादवसंग बुझ्दा दोहोर सुविधा लिएको स्वीकार गर्दै आफ्नो प्रयोजनका लागि तथा व्यक्तिगत काममा प्रयोग नगरको प्रतिक्रिया दिए ।
“दोहोरो सुविधा मैले बुझेको कुरा सही हो” अध्यक्ष यादवले भने, कर्मचारी बैठक, भिआईपीको स्वागत,आपतकालीन अवस्थामा मेरै आदेशमा चिया नास्ता र जनतालाई आपत-विपत पर्दा एम्बुलेन्समा इन्धन उपलब्ध गराउंँदा खर्च बढेको हो, त्यो जनताकै लागि खर्च गरिएको छ ।”