न्यूज टुडे
कञ्चनपुर,१० साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा संचालित शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई ब्रहमलुट गरेको छ । संस्थाले सरकारले तोकेको न्यूनतम महसुल दरभन्दा ७ गुणा बढी शुल्क तोकेर लुट मच्चाएको हो । संस्थाले जनताको ढाड सेक्ने काम गरेपछि उपभोक्ताहरुले आन्दोलनको तयारी थालेका छन् ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरपालिका समेतलाई बेवास्ता गरी सरोकारबालसँग छलफल बिनै न्यूनतम महसुल दर कानूनभन्दा ७ गुणा बढी तोकेपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।
खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०को नियम ९ अनुसार धाराको महसुल दर न्यूनतम २० रुपियांँ तोकेको छ तर कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १ सय ५० रुपियांँ तोकेको छ । उक्त रकम सरकारले तोकेको भन्दा ७ गुणा बढी हो ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकारबालासंगको छलफल विनै आफुखुशी अत्यधिक महसुल तोकेपछि प्रतिउपभोक्ता मासिक १७ हजारभन्दा बढीको बिल उठेको छ । कञ्चनरुप नगरपालिका८का सुरेश कुमार राउतको २०२ युनिटको महसुल १७ हजार २ सय ९५ रुपियांँ उठेको छ । त्यसैगरी सोही वडाका बिनोद सरबरियाको १५६ युनिटको १३ हजार ६ सय ९५ रुपियांँ,नन्दकिशोर प्रसाद गुप्ताको ५४ युनिटको ३हजार ४ सय ९५ रुपियांँ,विनिता चौधरीको ३९ युनिटको एक हजार ९ सय ९५ रुपियांँ,किरण गुप्ताको ३६ युनिटको १ हजार ६ सय ९५ रुपियांँ,काशीनाथ शरणको २९ युनिटको १ हजार १ सय ५५ रुपियांँ,विरेन्द्र प्रसाद गुप्ताको २३ युनिटको ७ सय ८५ रुपियांँ महसुल उठेको छ ।
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको लुटका बिरुद्ध उपभोक्ताले आन्दोलनको तयारी गरेको छ ।
उपभोक्ता समितिका सदस्य समेत रहेका कञ्चनरुप ८का उमेश प्रसाद गुप्ताले खानेपानी संस्थाको मनपर्दी विरुद्ध आन्दोलनमा जाने बताए ।
“हामी वडास्तरीय समितिका व्यक्तिहरुलाई समेत महसुल निधारणबारे कुनै जानकारी छैन,केही व्यक्तिहरुले खानेपानीलाई पुर्खौली सम्पत्ति जस्तै बनाएका छन्” उनले भने ।
स्थानीय मदन प्रसाद गुप्ताले कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गरीरहेको लुटका विरुद्ध जनताहरुलाई एक जुट बनाउने काममा लागेको बताए । ” उपभोक्ताहरुसँग मासिक रुपमा उठाएको महसुलको रसिद संकलन गर्ने काम भइरहेको छ”, उनले भने, “हामीले कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गरीरहेको बदमासीबारे कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तालाई समेत लिखित रुपमा जानकारी गराएका छौं तर उहाँले समस्या समाधान गर्नुका सट्टा कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी गर्न उक्काउने सल्लाह दिनुभयो ।”
अर्का उपभोक्ता मदन प्रसाद गुप्ताले नगरप्रमुखलाई समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । “उपभोक्ता अधिकारका लागि तालाबन्दी अन्तिम विकल्प हो,हामीले नगरप्रमुखको हैसियतमा उहाँले केही पहल गर्नुहुन्छ की भन्ने आशमा गत असार ३० गते नै ज्ञापन पत्र बुझायौं”, उनले भने, “अब कसरी अगाडि बढ्ने बारे उपभोक्ता र नागरिक समाजका प्रतिनिधिहरुको वृह्त भेलाको तयारी भइरहेको छ । खानेपानीका अन्य मुद्दाहरुमा समेत हामी छलफल गर्छौ ।”
कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भुवन बहादुर केसीले खानेपानीको महसुल दर निर्धारण गर्नका लागि कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्तासँग पटक पटक समय माग गरेपनि उहाँ व्यस्त भएकोले समितिले आफैले न्यूनतम महसुल दर निर्धारण गरेको स्वीकार गरे । “उपभोक्ताहरुको गुनासो धेरै आएको छ,हामी सर्वपक्षीय बैठक गरेर शुल्कको दर परिमार्जन गछौं ” उनले भने ।