न्यूज टुडे
राजविराज, ०९ साउन ।
सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा रहेका कान उपचार केन्द्रको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । भवनको बुधबार आयोजित एक समारोहका विच जग्गा दाता जोगेन्द्र भगत र उनका धर्मपत्नी ठाकोदेवी भगतले शिल्यानास गरेका हुन् ।
विगत १४ वर्ष देखि राजविराजको छुट्टाछुट्टै स्थानमा भाडाको कोठा लिई कान सम्बन्धि सम्पुर्ण रोगको उपचार सेवा प्रदान गर्दै आएको कान उपचार सेवा केन्द्रले अबको ९ महिना भित्र आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
भवन निर्माणका लागी दानवीर नामले चर्चित स्थानीय समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछी केन्द्रको आफ्नै भवन निर्माण हुने भएको कान उपचार केन्द्रले जनाएको छ ।
यस अघि केन्द्रद्वारा राजविराज वडा नम्बर ९ मा कानका विरामीहरुको जाँच र समान्य उपचार तथा वडा नम्बर ३ मा शल्यक्रिया सेवा प्रदान गर्दै आएको थियो । दुबै ठाउँमा भाडा कै घर लिएर उपचार सेवा प्रदान गरिदै आएकोमा समाजसेवी भगतले जग्गा उपलब्ध गराएपछि नयाँ र आफ्नै भवन निर्माणका साथै एकै थलोबाट सम्पुर्ण उपचार सेवा प्रदान गर्न सहज हुने इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले बताईन ।
विगत १४ वष देखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो कान उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछी जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत कान उपचार केन्द्र नामाकरण गर्ने समेत तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेश कुमार यादवले जानकारी दिए ।
उक्त नयाँ भवन निर्माणका लागी इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैया लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाण्डौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्शन प्रा.लि.लाई दिइएको र तोकिएको समय भित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनले जानकारी दिए ।