न्यूज टुडे
राजविराज, ०६ आउन ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामामा अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टीका नगर अध्यक्ष भुपेन्द्र राई सहित बिभिन्न पार्टी परित्याग गरि १ सय ६२ जना एमाले प्रवेश गरेका छ्न । नेकपा एमाले चौदण्डी नगर समितीद्वारा चौदण्डीगढी नगरपालिका ४ बसाहामा आइतबार आयोजित एक समारोहका वीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।
नव प्रबेशी नेताकार्यकर्तालाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले टिका खादा लगाएर पार्टी प्रवेश गराए ।
पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेता एवम् कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताए ।
मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षती पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको जिकिर गरे
। उनले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने बताउंँदै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले आफुहरुले कांग्रेससंग बांँकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताए । कार्कीले कांग्रेस आफुहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दावी गरे। मुख्यमन्त्री कार्कीले एमाले सधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेस संग सहकार्य गर्न पुगेको स्पष्ट पारे।
उनले कोशी प्रदेश सरकारको नेतृत्व आफुले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफु दुखी रहेको बताउंँदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले कांग्रेससँगको सहकार्य मार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पुरा गर्ने गरि बांँकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको विश्वास व्यक्त गरे ।
नवप्रवेशी भुपेन्द्र राईले आफुहरुले १२ बर्षे राजनीतिक जीवन ठुला नेताको भूलभुलैयामा लागेर खेर फालेको भन्दै आफुले बिगतमा निर्माण गरेको पार्टी एमालेमा पुनः जोडिन पाउँदा खुशी भएको बताए। राईले मुलकका सबैखाले समस्याको समाधान नेकपा एमालेले मात्र गर्न सक्ने भएका कारण पनि आफुहरु पुनः एमालेमै फर्किएको उल्लेख गरे ।
नेकपा एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमाले प्रति बिश्वास र भरोसा बढेको बताए । उपाध्यक्ष चेम्जोङ्गले चौदण्डीगढी नगरपालिका पनि एमालेले जितेको र यहाँका जनप्रतिनिधिहरुको कार्यशैली र विकास प्रतिको लगावले आज ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेसको लहर चलेको बताए । उनले जनताले जसरी एमालेलाई बिश्वास गरेका छन सोहि आधारमा जनप्रतिनिधिले काम गर्दै जानु पर्नेमा समेत जोड दिए ।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको उल्लेख गरे । उनले आफु पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेशको कार्यक्रम संचालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने दावी गरे ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले आफूले यसरि एमाले प्रवेशको लहर देख्दा अब आफ्नो पालिकामा प्रतिपक्षीनै नहुने हुनकी भन्ने आभास भएको बताए । मेयर लामाले एमाले जनताको पार्टी भएकोले हिजो आफुहरुलाई एउटा बिश्वासले जिम्मेवारी दिनुहुने तमाम जनताको भावना अनुसार आफुले काम गरिरहेको भन्दै आजको पार्टी प्रवेशको लहरले आफुलाई थप जिम्मेवारी थपेको बताए ।
नगर अध्यक्ष विकास बन्जाराको अध्यक्षतामा आयोजित कार्यक्रममा एमले पोलिट ब्युरो सदस्य मन्जु कुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत नगर उपाध्यक्ष लुङ्गाराज राईले गरेका थिए ।
कार्यक्रममा जनता समाजबादी पार्टीबाट ७७ जना, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट ४७ जना, नेपाली कांग्रेसबाट १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १७ जना र एकीकृत समाजवादीबाट ३ जना गरी १ सय ६२ जना एमाले प्रवेश गरेको नेकपा एमाले चौदण्डीगढी नगरपालिकाका अध्यक्ष विकास बन्जाराले जानकारी दिए ।