न्यूज टुडे
राजविराज, २५ असार ।
उदयपुरको त्रियुगा नगरपालिका १५ खाँबुमा पहिरोले पुरिएर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भारी बर्षासंगै आएको पहिरोमा घर पुरिएर खाँबुकी ९ बर्षकी रुपकला मगरको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका हुन् । उनीहरु एकै परिवारका सदस्य हुन् ।
घाइते हुनेमा उनको आमा ४० वर्षीया हिराकुमारी मगर र ७ वर्षीय भाइ योगेश मगर रहेको डिएसपी राजन चापागाईंले जानकारी दिए । घाइतेहरूको उपचारको लागि उदयपुर अस्पताल ल्याउने तयारी भइरहेकाे उनले बताए ।
उक्त ठाउँमा उनीहरूसहित चारवटा घर पुरिएको वडाध्यक्ष हिमराज मगरले बताए । अन्य ७ ओटा घर जोखिममा रहेका छन् ।
यता सदरमुकाम गाईघाट कटानकाे उच्च जोखिममा परेको छ । बरुवाखाेलामा आएको बाढीले ढिम्कीस्थित बाँधमा कटान गरेको छ। बाँधका करिब ५० मिटर लम्बाई र ६ मिटर चौडाइ कटान भएको छ । कटानले तारजाली, ढुङ्गा र दर्जनौ रुख कटान गरी बगाएको छ । कटानपछि बजार र आसपास क्षेत्र उच्च जोखिममा परेको हो ।
कटान स्थलमा रोकथामलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । तार जाली भरेर रोकथामको प्रयास भइरहेको छ । बेलका नगरपालिका १ भालुवन्ति गाउँ डुबान हुँदा ६ घर विस्थापित भएको उपमेयर जिरा राईले जानकारी दिइन ।
लामो बर्षा र भेलबाढीका कारण जनजीवन प्रभावित भएकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आग्रह गरेका छन् ।