• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानीय तहहरुमाथि आफू मातहतका स्वास्थ्य संस्थामा विभिन्न प्रकारका निःशुल्क औषधिको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी छ ।
तर सप्तरीका अधिकांश स्थानीय स्वास्थ्य संस्थामा यस्ता औषधिको अभाव रहँदै आएको छ । कतिपय औषधि वर्षदिन भरि नै अभाव रहने गरेका कारण आएका विरामी रित्तो हात फर्किनु परिरहेको छ । समयमा बजेट उपलब्ध नहुने गरेका कारणले नै यस प्रकारको समस्या उत्पन्न भएको स्वास्थ्य संस्थाका कर्मचारीले बताउने गरेका छन् । औषधि जस्तो अत्यावश्यक कुराको प्रबन्ध मिलाउने विषयमा पनि स्थानीय तहका जनप्रतिनिधिले चासो नलिने हो भने उनीहरुबाट अन्य महत्वपूर्ण काम पनि कसरी सम्पादन भईरहेको होला भनि प्रश्न नउठ्ला भन्न सकिन्न । निःशुल्क औषधि उपलब्ध गराउने भनि सरकारले लिएको अठोट एकातिर रहनु र कार्यान्वयनका पक्षमा चाहिँ यस प्रकारको कमजोरी देखिनुले भनाई र गराईमा तालमेलको अभावलाई नै झल्काउँछ । यसले जनतामा स्थानीय तहको कार्यशैली प्रति पनि नकारात्मक धारणा विकसित गर्ने भएका कारण जनताका समस्यालाई मध्यनजर गरेर यी कमजोरीमा सुधार ल्याउनु पर्ने आवश्यकता छ । कुनै कुनै समयमा केही कारणवश औषधि उपलब्ध हुन नसक्नुलाई स्वाभाविक नै मानिएला ।
तर पटक पटक यसै प्रकारका कमजोरी दोहोरिएर आउने गरेका कारण यसले जनता प्रतिको जिम्मेवारीमाथि नै बेवास्ता गरेको अर्थ लगाईयो भने त्यसलाई कसरी अन्यथा भन्न सकिएला ? जनताको स्वास्थ्य रक्षासित जोडिएको यो सबाललाई हलुका रुपमा होईन, गम्भीरताका साथ लिन आवश्यक छ ।