सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले रोजगार संयोजक र रोजगार सहायक पदको विज्ञापनको विषयलाई लिएर आफूमाथि केही जनप्रतिनिधिहरुले अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको मागसहित प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका छन् ।
कर्णले प्रमुख जिल्ला अधिकारी समक्ष गरेको उजुरीको व्यहोरा हेर्ने हो भने कर्मचारी भर्नाको विषयलाई लिएर पनि जनप्रतिनिधिले विवादको विषय बनाएको बुझ्न सकिन्छ । जनप्रतिनिधिले आफ्ना मानिसलाई जागिर खुवाउनका लागि स्थानीय तहमा चलखेल गर्ने गरेका थुप्रै उदाहरण नरहेका होईनन् । सप्तरीमा पनि धेरै जसो स्थानीय तहमा कर्मचारी भर्नाको विषयलाई लिएर पटक–पटक विवाद चल्दै आएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले ज्यालादारीमा भर्ना गरेका, अस्थायी भर्ना भएका कर्मचारीहरुलाई पछि निर्वाचित भएर आउनेले म्याद नथापी हटाउने र पछि त्यही रिक्त स्थानमा आफ्ना मानिसलाई भर्ना गर्ने काम हुने गरेको भन्दै उक्त कार्यको व्यापक आलोचना पनि भएकै हो । स्थानीय तह जनप्रतिनिधिका मानिसलाई जागिर खुलाउने भर्ति केन्द्र होईनन र यस्तो कार्य पारिनु पनि हुँदैन । आवश्यकता परेकावाला केही कर्मचारी सिमित समयका लागि भर्ना गरेर अवरुद्ध भएको काम चलाउने प्रावधान रहेपनि त्यसको दुरुपयोग गरी जथाभावी आफ्ना मानिस भर्ति गरेर आर्थिक बोझ बढाउने कार्य बन्द गर्न जरुरी छ ।
गोप्य रुपले आपसी मिलिभगतमा यसरी भर्ना गरेर जनताले तिरेको करबाट खडा भएको कोषको दोहन गर्ने काम कुनै पनि हिसाबमा उपयुक्त होईन । जनताका लागि विकासीय काममा लगाउनु पर्ने कोषमाथि यस्तो ब्रह्मलुट बन्द गर्न जरुरी छ ।