राजविराज नगरपालिकाको सहयोग तथा हाम्रो नेपाल सहयोगी संस्था राजविराज ४ को आयोजनामा संचालित १५ दिने नगर स्तरीय लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मो. मोइन उद्विन ( बब्लु खान)को अध्यक्षता तथा राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच लोकसेवा तयारी कक्षा समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख परविनले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन । उनले सहभागीहरुले लोकसेवा आयोगको परिक्षामा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्न सकेमात्र कार्यक्रमले सार्थकता पाउँने बताइन् । तालिममा सक्रिय सहभागीता जनाएकोमा सहभागीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा समेत लोकसेवा तयारी कक्षा तालिम संचालन गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
सहभागी अशिक कुमार झा र रानी कुमारी दासले लोकसेवा तयारी कक्षामा सहभगी हुन पाउँदा खुशी लागेको बताए । ऊनीहरुले कार्यक्रम उपलब्धिमुलक भएकोले आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख परविन, राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन प्रसाद यादव, पत्रकार बृजमान तामाङ, सामाजिक शाखा अधिकृत अनिता चौधरी, प्रशिक्षकहरु दिपेन्द्र प्रसाद यादव, अरुण कुमार यादव,मनिषा यादव, अजय अनलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।
जेठ १३ गतेदेखि सुरु भएको लोकसेवा तयारी कक्षामा राजविराज नगरपालिका अन्तर्गतका १६ वटै वडाका गरी ४५ जना सहभागी तयारी कक्षाको प्रशिक्षकमा दिपेन्द्र प्रसाद यादव, अरुण कुमार यादव, मनिषा यादव, अजय अनल रहेका थिए ।