न्यूज टुडे
राजविराज , २७ जेठ ।
छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौँ संस्करणको फाइनलमा प्रवेश छ । पवि मावि राजविराजको खेलमैदनमा आइतबार सम्पन्न दोस्रो क्वालीफायरमा कञ्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ता फाइनल प्रवेश गरेको हो ।
उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स बिच सोमबार फाइनल खेल हुनेछ ।
पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कञ्चनरूप राइनोजले दिएको १ सय १८ रनको लक्ष्य छिन्नमस्ताले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भिम सार्कीले अर्धशतकीय योगदान दिए । उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए । यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमित नेवारले ११ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भिमले फिर्दोश अन्सारीसँग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । सोह्रौँ ओभरमा भिम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिङ गर्दै टिमलाई जितसम्म डोर्याए । कञ्चनरूपको बलिङमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन ।
यस अघि टस जितेर ब्याटिङ गरेको कञ्चनरूप राइनोजले १८.२ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । कञ्चनरूपका लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ रन, अभिषेक गौतमले १५ तथा शुभ कंसकार र महानन्द यादवले समान १३ रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ता लायन्सका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा २४ रन खर्चिए । यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए ।
सप्तरी क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पार्नेछ । उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ ।