न्यूज टुडे
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिका ३ मा शनिबार महिला समूह समितिका लागि अनुशिक्षण सम्बन्धि तालिम आयोजना गरिएको छ । राजविराज नगरपालिकाको सहयोग तथा हाम्रो नेपाल सहयोगी संस्था राजविराज ४ को आयोजनामा महिलाहरुको लागि अनुशिक्षण तालिम आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष मो. मोइन उद्विन (बब्लु खान)को अध्यक्षतामा आयोजित कार्यक्रमको राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनले उद्घाटन गरिन ।
तालिम उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख परविनले तालिमले महिलाको हक अधिकार सुनिश्चितताको लागि महिलाहरुलाई जागरूक बनाउने विश्वास व्यक्त गरिन । उनले जनचेतनामूलक कार्यक्रमहरुले समाजमा सदियौ देखि जकडिएर रहेको रुढीबादी परम्पराको अन्त्य गर्दै सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताइन् ।
महिलालाई सक्षम बनाउन महिलाहरु शिक्षित हुनुपर्नेमा जोड दिदै उनले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गरिन ।
तालिम आफ्नो लागि भएको सम्झेर सक्रिय सहभागीता जनाउन आग्रह गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख परविनले तालिमबाट प्राप्त ज्ञनले घरेलु तथा महिला हिंसाको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरिन ।
उनले महिलाहरुलाई आउने समस्या समाधानका लागि समुह मार्फत काम गर्न सहज हुने भन्दै महिलामाथी हुने अन्त्यको विरुद्ध आफू सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
राजविराज नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अनिल कुमार दासले तालिममा सक्रिय सहभागीता जनाउन सहभागीहरुलाई आग्रह गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाकी सामाजिक विकास अधिकृत अनिता चौधरी, पत्रकार बृजमान तामाङ, वडा नम्बर ३ की शान्ति चौधरीलगायतका उपस्थिति रहेको थियो । संस्थाकी कार्यक्रम संचालक समा अन्सारीद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय महिला समाजसेवी आशा साहले गरेकी थिइन् ।
राजविराज नगरपालिकाका भरीका ६० जना महिला सहभागी तालिमको सहजीकरण रन्जिता यादव,मनिषा चौधरीले गरेकी थिइन् ।
टोल स्तरीय महिला समूह समिति गठन गरी बचत गर्न प्रोत्साहन गर्न र राजनीतिक ,रोजगारी तथा सरसफाइसहितका कार्यमा अग्रसरता बढाउनका लागि योगदान दिने अनुशिक्षण तालिमको उदेश्य रहेको आयोजकले जनाएको छ ।