राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् ।
नीति तथा कार्यक्रम हेर्दा सरकारले बजेट मार्फत धेरै कुरा गर्न चाहेको सहजै बुझ्न सकिन्छ । विगतमा पनि यस प्रकारका राम्रा कार्यक्रमको फेहरिस्त नै प्रस्तुत गर्ने गरिन्थ्यो । तर तिनको कार्यान्वयनका पक्षमा देखिएको उदासिनताका कारण फगत प्रस्तुतिकालागि मात्र यस्ता कार्यक्रम ल्याईएको भनि टिप्पणी पनि नभएको होईन । नीति तथा कार्यक्रम ल्याएपछि जनता त्यस प्रति आश्वस्त बन्ने स्वाभाविकै हो । तर जव कार्यान्वयनको समय आउँछ तब ती मध्येका धेरै जसो नीति तथा कार्यक्रम कार्यान्वयन नै हुन पाउँदैनन् । फेरि संसदको अंकगणितलाई हेर्दा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्था छ । यसले गर्दा चाँडो चाँडो सरकार परिवर्तन हुने गरेका कारण एक प्रकारको राजनीतिक अस्थिरता नै छ । सरकार परिवर्तन भएपछि अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अघि बढाउने तर्फ ध्यान दिनु भन्दा पनि आफ्नै पाराका कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने परिपाटी पनि नरहेको होईन । यसले गर्दा कार्यक्रममा राम्रा कुरालाई समेटिने गरेको भए पनि त्यो कार्यरुपमा जाला नै भन्न सकिने ग्यारेण्टी नरहने अवस्था छ ।
जनतालाई विकासको प्रत्याभूति दिने हो भने कार्यक्रम जुन दल नेतृत्वको सरकारले ल्याएको भए पनि त्यसलाई निरन्तरता दिने, कार्यान्वयनमा लैजाने कार्य सकारात्मक हो । सरकार बदलिने बित्तिकै कार्यक्रममा पनि त्यसको प्रभाव पर्ने परिपाटीमा सुधार ल्याउन आवश्यक छ ।