• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आधारभुत विद्यालय कमलपुरको विवाद वडा कार्यालय पुग्यो, वडा अध्यक्षसहित ३ जनामाथि हातपात

आधारभुत विद्यालय कमलपुरको विवाद वडा कार्यालय पुग्यो, वडा अध्यक्षसहित ३ जनामाथि हातपात
न्यूज टुडे
राजविराज, ०२ जेठ । 
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ स्थित रहेको आधारभुत विद्यालय कमलपुरको विवाद वडा कार्यालयसम्म पुगेको छ । विवाद उत्कर्षमा पुगेपछी बुधबार वडा अध्यक्ष जितेन्द्र कुमार यादवसहित ३ जनामाथि हातपातसम्म भएको हो ।  
वडा अध्यक्षले विद्यालयमा तालाबन्दी गर्न हौसाएको भन्दै आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेपछि विवाद हुँदा हातपातसम्मको स्थितमा पुगेको स्थानीयले बताएका छन् । स्थानीय महिलाहरुको समूहले सुमित्रादेवी खंगका श्रीमान सिवन खंग, सोमन मुखियामाथि हातपात गरेका छन् ।
स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेपछि  वडा अध्यक्षले बल प्रयोग गरी ताला फुटाएर कार्यालय संचालनमा ल्याउन खोज्दा स्थानीय प्रतिकारमा उत्रिएको थियो । विभिन्न सिफारिस तथा घटना दर्ता शुल्क बढीलिएको विरुद्धमा स्थानीयले लगाएको ताला वडा अध्यक्षले खेलेपछी दुइपक्ष विच झडप भएको राजगढ गाउँपालिका वडा नम्बर २ का पुर्व वडा अध्यक्ष ललित प्रसाद सिंहले बताए । 
“वडा कार्यालयले जन्म तथा विवाह दर्ता र विभिन्न सिफारिसको शुल्क रु ५ सय लिएपछि स्थानीयले विरोध स्वरुप वडा कार्यालयमा तालाबन्दी गरेका थिए, उनले भने, वडा अध्यक्षले उक्साएर आधारभुत विद्यालय कमलपुरमा बुधबार तालाबन्दी गरेको निहुँपनि छ, वडा अध्यक्षले स्थानीयको आन्दोलनलाई दमनको नीति लिएकाले झडप हुँदा स्थानीय महिलाहरूको समुह उनीहरुमाथि जाईलागे, बिहिवार सर्वपक्षीय बैठक बोलाए समस्या समाधान गर्ने सहमतिपछि विद्यालय र वडा कार्यालयमा गरिएको ताला खोलिएको छ ।”
सिंहका अनुसार विद्यालयका प्रधानाध्यापक रविन्द्र यादवमाथि विद्यालय व्यवस्थापन समितिका सदस्यले गरेको दुर्व्यवहार विषयबाटै विवाद उत्पन्न भइ वडा कार्यालयसम्म तालाबन्दी हुन पुगेको हो ।  उनले विद्यालयमा तालाबन्दी गर्न वडा अध्यक्ष यादवको संलग्नता रहेको आरोप लगाए । 
वडा अध्यक्ष यादवले केही व्यक्तिको उक्साहटमा स्थानीय केही महिलाहरुको समुहले आफुहरुमाथि हातपात गरेको स्वीकार गरे ।  विद्यालयमा तालाबन्दी गर्न आफुले उक्साएको भन्ने आरोप निरधार रहेको बताउँदै वडा अध्यक्ष यादवले विद्यालयमा गुणस्तरहीन खाजा विद्यार्थीहरुलाई खुवाउने र शिक्षकहरुले स्तरीय खाजा खाने गरेको विरोधमा अभिभावकहरुले विद्यालय ताला लगाएको बताए ।  
प्रधानाध्यापक यादवलाई व्यवस्थापन समितिका सदस्यले विद्यालयमै दुर्व्यवहार गरेको यसअघिनै समाचार सार्वजनिक भएको थियो ।  यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा दुबैपक्ष विच सहमति भएपनि विवाद अझै नटुङ्गीएको स्थानीयलेहरुले बताएका छन् ।