सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टीका अग्नीपीडित ४६ घर परिवारलाई जिल्ला प्रशासन कार्यालयले सोमबार आर्थिक सहयोग गरेको छ । गत बैशाख १८ गते आगलागीबाट सर्वस्व गुमाएका अग्नीपीडित परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट राहत स्वरुप ७ लाख ८५ हजार रुपियाँ नगद सहयोग गरेको हो ।
उक्त अवसरमा १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारकाे दरले ७ लाख ८५ हजार नगद वितरण गरिएकाे प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । नागरिकता ,घर एकीन र मतदाता विवरण लगायत तथ्यगत विवरण संकलनमा केहि समय लागेकाेले नगद राहत वितरण केहि ढिलाे भएकाे बताउँदै उनले पुनर्स्थापना र तत्कालकाे केही व्यवस्थापनमै समय लागेकाेले नगद वितरण गर्नु परेकाे बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे तर्फवाट नगद राहत स्वरुप परिवार संख्या हेरेर ५ जना सम्मलाई प्रति परिवार १५ हजार तथा साे भन्दा बढी सदस्य रहेकालाई २० हजारको दरले राहत स्वरुप वितरण गरिएकाे प्रजिअ थापाले जानकारी दिए ।
महादेवा गाउँपालिका वार्ड नम्बर १ काे कार्यालयमा आयोजित कार्यक्रममा महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल , प्रमुख जिल्ला अधिकारी किरण थापा, बरख गण राजविराजका प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गजु सिद्धि वज्राचार्य , सशस्त्र प्रहरी ६ नम्बर गण राजविराजका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक धन वहादुर सिंह, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख सुरेन्द्र काेइराला, वडा अध्यक्ष जय किशाेर दास, वडा सदस्य कमल पर्सेया, सप्तरी युथका कार्यबाहक अध्यक्ष माेहन यादवलगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियो ।