• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समचार प्रभाव : बैंक गार्ड फुयालको हत्या आरोपी सार्वजनिक

समचार प्रभाव : बैंक गार्ड फुयालको हत्या आरोपी सार्वजनिक
न्यूज टुडे
राजविराज, ३० बैशाख । 
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै हत्या आरोपमा पक्राउ परेका  सप्तकोशी नगरपालिका–५, गंगाजलीका ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई सार्वजनिक गरेको हो।
सुवेदीलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा राप्ती नगरपालिका वडा नम्बर १ लोथर चितवनबाट  शनिबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । तालिम प्राप्त कुकुर सहितको मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुसन्धान टोलीले बैंकमा रहेको सिसिटिभी फुटेजको अध्यन विश्लेषण गरी उक्त घटनामा सुवेदीको संलग्न देखिएकोले नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । 
उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी, घटनाको समयमा बोकेको झोला, लगाएको जुत्ता,पन्जा,सेन्डो, टोपी, सल र वरदात स्थलमा प्रयोग भएको काठ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी डुण्डीराज नेउपानेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 
प्रहरीले शनिबार नै सुवेदीलाई नियन्त्रणमा लिएको भएपनि घटना सार्वजनिक गरेका थिएन । आइतबार ९ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी नेउपानेसंग सम्पर्क गर्दा समेत घटनामा संलग्न कोहि पनि व्यक्ति पक्राउ नपरेको बताएका थिए ।
न्यूज टुडे दैनिक अनलाइनमा “बैक गार्ड हत्यामा प्रहरी अनुसन्धान फितलो, अझै हत्यारा पक्राउ गर्न सकेन” शिर्षकमा समाचार आएको ३ घण्टामै प्रहरीले फुयाल हत्याको आरोपमा पक्राउ परेको सुवेदीलाई प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
हुन त इलाका प्रहरी कार्यालय कञ्चनपुर स्रोतले हत्यामा संलग्न एक ब्यक्ति पक्राउ गरेको पुष्टि गरेको थियो ।  इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले  एकजना शंकास्पद व्यक्ति पक्राउ परेको तथा उनको पहिचानसहित सम्पुर्ण विवरण छिटै सार्वजनिक गरिने बताईसकेका थिए । 
सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका ५६ वर्षीय फुयाँल बिहीबार विहान बैंकमै मृत फेला परेका थिए। उनको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले यसअघि नै खुलाई सकेका थिए। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उनको शरीरमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरी रगतका टाटा फेला परेको थियो। 
उनी बैक सुरक्षागार्ड कक्षमै मृत अवस्थामा फेला परेका थिए। फुयालको लुटेरासँग निकैबेर मुडभेड भएको सिसिटिभी फुटेजमा देखिएको बैंकले जनाएको छ।  फुयालको हत्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको स्थानीयले जनाएको छ ।
मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।