• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीका सामूदायिक विद्यालयमध्ये अधिकांश कुनै न कुनै समस्याले ग्रस्त भएको अवस्था नयाँ होईन । यी समस्या मध्ये विद्यालयसित सम्बन्धित पक्षको आपसी विवाद र खटपट नै प्रमुख रहने गरेको छ ।
कतिमा प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीबीच विवाद रहेको छ । कतिपयमा प्रधानाध्यापक र स्थानीय अभिभावकका बीच टकराव छ । यसैगरी कुनै कुनै विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरुका बीचमा समेत विवाद रहेका कारण यसले गर्दा विद्यालयको शैक्षिक स्तर उकासिन सकेको छैन । केही दिन अघि जिल्लाकै एक विद्यालयका प्रधानाध्यापकलाई व्यवस्थापन समितका एक जना सदस्यको नेतृत्वमा आएको एक समूहले कुटपिट गरेका छन् । विद्यालयमा पाठ्यपुस्तक वाँडेकोमा विरोध गर्दै आफूमाथि कुटपिट गरिएको ती प्रधानाध्यापकले बताएका छन् । अन्य विद्यालयमा पनि विवाद नरहेको होईन । शिक्षाको स्तर उकास्नका लागि यसरी विवाद र खटपट प्रमुख बाँधक रहेको थाहा हुँदाहुँदै पनि आपसमा समन्वयका साथ एकबद्ध भएर काम गर्नुको साटो आ–आफ्ना गुट खडा गर्ने, जबरजस्ती आफ्ना कुरा लाडेर अरुका जायज कुरालाई पनि महत्व नदिने, बाहुवलको प्रदर्शन जस्ता गतिविधि एक शिक्षण संस्थाका लागि सुहाउदो कुरा होईनन् । शिक्षण संस्थामा त विद्यालय प्रशासन, शिक्षक, अभिभावक, व्यवस्थापन समितिदेखि सरसमाज सम्मको ऐक्यबद्धता, समन्वय, सहकार्यका साथ अघि बढ्न आवश्यक रहन्छ ।
सबैको एउटै साझा लक्ष विद्यालयको शैक्षिक स्तर उकास्ने र यसका लागि देखा परेका समस्या समाधानमा सबै एकजुट हुने थिति बसाउन सकियो भने मात्र त्यस्ता विद्यालयप्रति विद्यार्थीको पनि आकर्षण बढेर जानेछ । आपसमै टकरावपूर्ण वातावरण बनाएर शक्ति प्रदर्शणमा उत्रने अनि एकले अर्काको तेजोवद्ध गर्न उद्यत रहने हो भने यसले आफ्नो प्रतिष्ठा समेत दाउमा नलाग्ला भन्न सकिन्न ।