न्यूज टुडे
राजविराज, ४ बैशाख।
सप्तरीको विष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्षको कार्यभार समारोह मंगलबार सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि निलम्बनमा परेका अध्यक्ष उमेश प्रसाद यादवलाई बिशेष अदालतले सफाई दिएपछि एक भव्य कार्यक्रमका विच कार्यभार समारोहको आयोजना गरिएको हो ।
मधेस प्रदेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडा अध्यक्ष, स्थानीय बुद्धिजीवी, छिन्नमस्ता हस्पिटल प्रालिका अध्यक्ष शैलेन्द्र मोहन झा लगायतकाले अध्यक्ष यादवको सफल कार्यकालको शुभकामना मन्तव्य दिएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले निर्वाचनमा हारजित स्वाभाविक रहेको भन्दै हारको मानसिकताले ग्रस्त भएर जननिर्वाचित प्रतिनिधिमाथि षडयन्त्र गर्नु शोभनीय नहुने बताए । उनले गाउँपालिका अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुले एकतावध्द भएर जनताको लागि विकासीय कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफू जनताको सेवक रहेको भन्दै जनताका लागि विकासीय काम गर्न अहोरात्र खट्दा समेत आफुमाथि षड्यन्त्र भएको बताए । कार्यभार समारोहमा आगामी विकासीय कार्यक्रम समेत प्रस्तुत गरेका उनले एकबर्षको अवधिमा आफुले गरे बमोजिमको काम विगतको पाँच बर्षमा पनि हुन नसकेको दावी गरे ।
कार्यक्रम संचालन विष्णुपुर गाउँपालिकाका नायव सुब्बा गंगाराम साहले गरेका थिए ।