क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले सरकारले चासो नदिंदा नेपाली क्रिकेट खेलाडीको अवस्था दयनीय भएको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा सहभागी क्रिकेट विकास प्रतिष्ठान राजविराजका पदाधिकारीगरु । फोटो : न्यूज टुडे
बुधबारदेखि सुरु हुने जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इन्जिनियर देवले राज्यको उदासीनताले क्रिकेट खेलको अपेक्षित विकास हुन नसकेको बताए । उनले क्रिकेट खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थान बनाएपनि सरकारले चासो नदिंदा क्रिकेट खेलको अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे ।
अध्यक्ष देवले क्रिकेट खेलमा नेपाली खेलाडीहरुले विश्व प्रसिद्ध पाएपनि राज्यले संरक्षण नगर्दा उनिहरुको अवस्था दयनीय बनेको बताए । उनले क्रिकेट खेलको विकासका लागि सरकारी स्तरबाटै खेलाडीहरुको सुरक्षा र संरक्षण हुनुपर्नेमा जोड दिए ।
“क्रिकेट खेलमा लामो समयसम्म योगदान गरेका खेलाडीहरुको अबस्थामा काहाली लाग्दो छ, अध्यक्ष देवले आफ्नै छेउमा बसेका खेलाडी निरज कुमार सिंह र शम्भु दासलाई देखाउँदै भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीहरुको आर्थिक अवस्था एकदमै नाजुक छ, उनीहरु उदाहरण मात्र हुन् देशैभरका खेलाडीहरुको अबस्थामा त्यही छन् । “
अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटरले पाएको प्रसिद्धि र पहिचानबाट सरकार तरंगित बनेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राउन्ड निर्माण गर्न पहल गरेपनि त्यतिले नपुग्ने भन्दै खेलाडीप्रति राज्यको अभिभावकत्व र लगानी अपरिहार्य रहने जिकिर गरे ।
पेशेवर खेलाडीहरुको लागि आर्थिक सुरक्षा र उच्चस्तरीय कोचिंगको ब्यवस्था हुनुपर्ने उनको जोड थियो ।
युवाहरू खास गरि टिनेजर कुलत र दुर्व्यसन लागिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले उनीहरुलाई क्रिकेटको माध्यमबाट एउटा असल नागरिक बन्न अवसर प्राप्त हुने संभावना रहँदा- रहंदै स्थानीय सरकार उत्तरदायी बन्न नसकोको आरोप लगाए ।
“नेपालका अधिकाँश युवाहरु विदेश पलायन भएका छन् , बुढाबुढीमात्र घरमा छन्, बालबालिका जति दुर्व्यसनमा फसेको छ, यो अबस्थामा देशको अर्थतन्त्र नाजुक हुँदै गरेको छ, इन्जिनियर देवले भने, देश बनाउने ठुलो शक्ति विदेशीन बाध्य यस्तो परिस्थितिमा देश कसले बनाउँछ, देशको विकास र समृद्धि कसरी हुन्छ ।”
क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा पवि मावि राजविराजको खेलमैदान बैशाख ५ गते देखि १२ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्ला स्तरीय क्रिकेट क्लबहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा अध्यक्ष देवले जानकारी दिए । प्रतियोगितामा सबल नेपाल राजविराज, युथ एकेडेमी राजविराज, तिलाठी कोइलाडी गाउँपालिका, कंचनपुर रोयल रूपनगर, रुपनी राईडर्स, बजाज खडग यंग एलेवन, माँ काली छिन्नमस्ता, वाईइसि वरही विरपुर,राजदेवी राइजिंग गरि ९ टिम सहभागी हुने उनले जानकारी दिए ।
राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गर्ने प्रतियोगितामा जनप्रतिनिधि, संचारकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरुलगायतका खेलप्रेमी सम्पुर्ण जनसमुदायलाई उपस्थितिका लागि सोही पत्रकार सम्मेलन मार्फत अध्यक्ष देवले आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंह, प्रतिष्ठानकी सदस्य मिरा देव, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शम्भु दासलगायतका उपस्थिति रहेको थियो ।
बैशाख १२ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार राशीको नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता टिमलाई १५ हजार राशीको नगद पुरस्कार कप, मेडलद्वारा सम्मानित गरिने आयोजक क्रिकेट विकास प्रतिष्ठान राजविराजका सचिव भोगेन्द्र चौधरीले जानकारी दिए ।