विभिन्न सार्वजनिक निर्माण कार्यमा निर्माण व्यवसायीहरुको भूमिका अगूणी रहने कुरामा दुई मत छैन । ठूला ठूला परियोजनाका देखि साधारण काममा पनि निर्माण व्यवसायीले बोलकबोल (टेण्डर) मार्फत निर्माण कार्यको ठेक्का लिएर काम गर्दै आएका छन् ।
निर्धारित मापदण्ड र गुणस्तरमा केन्द्रीत रही समय सीमाभित्र काम सम्पन्न गरिसकेपछि मात्र उनीहरुले पूरा रकम भुक्तानी लिने गर्छन । यसरी हेर्दा मुलुकका सरकारी विकास निर्माणका कार्यलाई साकार तुल्याउनमा निर्माण व्यवसायीको ठूलो भूमिका रहन्छ । तर यस्ता कामवापत उत्पन्न हुने प्रदूषण नियन्त्रणमा पनि उनीहरुको जिम्मेवारी रहन्छ । तर जहाँ–जहाँ निर्माण कार्य सञ्चालनमा छन् ती सबै ठाउँमा भने प्रदूषण नियन्त्रणप्रति उति साह्रो चासो लिएको पाइँदैन । उदाहरणकै रुपमा हेर्ने हो भने सप्तरीमा भईरहेका सडक स्तरोन्ततिको कामलाई हेर्ने हो भने त्यो नै पर्याप्त हुनेछ । राजविराज–रुपनी होस वा पूर्व पश्चिम लोकमार्गको सप्तरी खण्ड नै किन नहोस्, अहिले त्यहाँ सडक स्तरोन्ततिको काम जारी छ । तर काम सुरु गरेपछि उक्त क्षेत्रमा धुलाम्य वातावरणले गर्दा सर्वसाधारण लामो समयदेखि धूलो खान बाँध्य छन् । धूलो मार्नका लागि यदाकदा ठाउँ ठाउँमा पानी छिटेको पनि नदेखिएको होईन । तर दिनरात दोहोरीलत्त चल्ने गरेका सवारी साधनको चापले पानी छिटेको केही समयपछि नै धूलो उडन सुरु हुने र आसपासको पूरै धुलाम्य हुने गरेको कुरा त्यहाँ भएर यात्रा गर्ने जोसुकैले पनि सहजै महशुस गर्न सक्दछन् । ठेक्का सकार भएकै वखत निर्माण कार्य गर्दा उत्पन्न हुने प्रदूषण नियन्त्रणको जिम्मा पनि ठेक्का लिनेकै हुन जाने कुरामा शंका छैन । तर जनतालाई धुलोको सास्ती दिएर काम गर्ने हो भने त यसले जिम्मेवारी (दायित्व) पूरा गरेको किमार्थ मान्न सकिँदैन ।
कामको ठेक्का लिए वापत निर्माण कम्पनीले मुनाफा कमाउलान्, कमाउनकै लागि ठेक्का लिईन्छ पनि । तर सर्वसाधारणलाई सास्ती दिने र स्वास्थ्य नै जोखिममा पर्न जाने अवस्थाप्रति पीडितहरुका तर्फबाट सोचि दिएर प्रदूषण नियन्त्रणमा ध्यान दिए मात्र जिम्मेवार पूरा गरेको मान्न सकिने छ ।