कमजोर व्यवस्थापनको कारण सहकारी दिवस फितलो भएको सप्तरीको कन्चनरुप नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले गुनासो गरेका छन् । ६७ औं सहकारी दिवसको अबसरमा कञ्चनरुप नगरपालिकाद्वारा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै बक्ताहरुले नगरपालिकाको कमजोर व्यवस्थापनले सहकारी दिवसको उत्साहमा कमी आएको टिप्पणी गरे । उनीहरुले व्यवस्थापकीय पक्ष कमजोर रहेको कारण कार्यक्रम फितलो भएको गुनासो गरे ।
राष्ट्रिय सहकारी बैंक समन्वयका सदस्य तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवले नगरपालिकाको कमजोर व्यवस्थापनले सहकारी दिवसको रौनकतामा कमि आएको टिप्पणी गरे ।
उनले ६६औं सहकारी दिवसको तुलनामा यसपाली नगरपालिकाको व्यवस्थापकीय पक्ष निकै कमजोर भएकोले दिवसको उत्साहमा कमि आएको बताए ।
र्यालीमा सहभागीहरुलाई कुनै किसिमको व्यवस्थापन नगरेको भन्दै उनले गुनासो गरे ।
“यदि नगरपालिकाले सहकारी दिवस मनाउन सक्दैन भने सहकारीहरु मिलेर नै आउने दिनमा सहकारी दिवस मनाउने छ, उनले भने, सहकारीमा सानो सानो पूंजी लगाएर सहकारी सञ्चालन हुने गरेको छ, त्यस्ता सहकारी सञ्जाललाई प्रोत्साहन गर्नेभन्दा कमजोर बनाउने काम नगरपालिकाबाट भएको छ । राज्यले सहकारीको जिम्मा स्थानीय तहलाई दिएको हुनाले हालसम्म कञ्चनरुप पालिकाले सहकारी प्रति कुनै किसिमको जवाफ देहि नलिएको भन्दै गुनासो गरे ।
नगर प्रमुख ललन प्रसाद गुप्ताले व्यवस्थापकीय पक्ष कमजोर भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर जाने प्रतिबद्धता व्यक्त गरे। आउने ६८ औं सहकारी दिवस मनाउने क्रममा यस्तो कमजोरी हुन नदिने उल्लेख गर्दै उनले आगामी कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधिहरुको काम नीति नियम बनाउने भएकोले बजेट विनियोजनमा खासै भुमिका नरहने बताए ।
” बजेट बनाउने काम जनप्रतिनिधिको होइन, मेयर गुप्ताले भने, जनप्रतिनिधिले नीति नियम,बनाउने हो, त्यसकारण सहकारीको लागि बजेट विनियोजनमा जनप्रतिनिधिको भुमिका खासै रहदैन ।”
नगरपालिकामा ६३ वटा सहकारी दर्ता रहेको बताउँदै उनले केहि दर्ता नगरिएको बिचोलिया सहकारी पनि रहेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दर्ता रहेको ६३ सहकारी मध्ये कम सहकारी मात्र सक्रिय रहेको बताए । सम्बन्धित पेशासंग दर्ता रहेको सहकारीले समेत सोही पेशासंग कार्य नगरेको साहले जानकारी गराए । सहकारीमा अनुशासन ,सुशासन कायम राख्न आबश्यक हुने बताउदै प्रमुख प्रशासकीय अधिकृत साहले नगरपालिकाले पनि आफ्नो दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले सहकारी ऎनलाई पालन गरि ऋण उपलब्ध गराउदै ,प्रविधी मैत्री हुनु पनि सहकारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख मुना कुमारी पोखरेल, वडा नम्बर -८का अध्यक्ष कृष्णा साह, सहकारीका तर्फबाट इश्वरी पोखरेल,सबिता न्यौपाने,राजेन्द्र यादव , जानकी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारीका सदस्य रोहित यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रशासन शाखा प्रमुख नवराज खड्काले गरे ।
उक्त अवसरमा नगरपालिकाले आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा सहकारीका सदस्य र नगरपालिका कर्मचारी सहित गरि ३७ जनाले रक्तदान गरेको थियो ।