• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अध्यक्ष विरुद्ध जनप्रतिनिधिहरु जाने भएपछी गाउँपालिकामा लागेको ताला खुल्यो

अध्यक्ष विरुद्ध जनप्रतिनिधिहरु जाने भएपछी गाउँपालिकामा लागेको ताला खुल्यो
न्यूज टुडे
राजविराज, १९ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको विरुद्धको आन्दोलनमा जनप्रतिनिधिहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि गाउँपालिका कार्यालय मुलगेटमा लागेको ताला खुलेको छ । गाउँपालिका स्तरीय  वेथिति विसंगति विरुद्धको संघर्ष समितीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीसहित ६ वटै वडा अध्यक्षहरुको उपस्थितिमा सोमबार आयोजित एक भेलाले दुईबुँदे सहमति गरेपछि ६ दिनपछि गाउँपालिका कार्यालयमा लागेको ताला खोलिएको हो । 
भेलाले गाउँपालिका अध्यक्ष चौधरीले साविक सितापुर गाविस वडा नम्बर ७ ( क) किनं ६५ बाट किनं ६५५ कायम भई सोको क्षेत्रफल १ -२- १७ ( विघा) इटहर्वा बजारको जग्गा व्यक्तिको नाउँमा पास गर्न सहयोग गरेको विषयमा चैत २४ गते बृहत् भेला गरि निर्णय लिने, अध्यक्षको कार्यकक्षमा लगाइएको ताला यथावत राखी गाउँपालिका कार्यालयको मुलगेटमा लागेको ताला खोल्ने निर्णय गरेको संघर्ष समितिका सदस्य श्याम कुमार चौधरीले जानकारी दिए । 
वेथिति विसंगति विरुद्ध संघर्ष समितीको जारी आन्दोलनमा समर्थन जनाउँदै बजारको जग्गालाई रोक्का राख्ने र सार्वजनिक कायम गर्न कानुनी रुपमा अगाडि बढ्ने जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले प्रतिबद्धता व्यक्त गरेपछि गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको उनले जानकारी दिए । 
लामो समयसम्म तालाबन्दी हुँदा सेवाग्राहीहरुमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै आन्दोलनको कार्यक्रमलाई कायम राखी तत्कालका लागि ताला खोलिएको संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले बताए ।
उनले सार्वजनिक सम्पत्ति बेचविखन गर्न सहयोग गर्ने अध्यक्षलाई कारबाही र बजारको जग्गा सुरक्षित हुने आधार तयार नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने चेतावनी दिए ।
गाउँपालिका कार्यालय अगाडि भएको भेलामा उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, ५ का कार्यबाहक अध्यक्ष हरि खंग, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवलगायतका संघर्ष समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
इटहर्वा बजारको जग्गा रोक्का कायम राख्नेसहितका आफुहरुसित गरेको सम्झौता विपरीत भु-माफियाको प्रभावमा परि सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पास गर्न सहयोग गरेकोले सहमति कार्यान्वयन गर्न माग गर्दै गत १४ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । 
गाउँपालिकामा तालाबन्दी भएपछि वडा नम्बर १ स्थित रहेको सम्पर्क कार्यालयमा अध्यक्ष चौधरी बस्ने गरेको थाहा पाएर त्यहाँ तालाबन्दी गर्न पुगेका आन्दोलनकारीमाथि अध्यक्ष चौधरीले स्थानीयलाई प्रतिकार गर्न निर्देशन दिएपछि दुबैपक्षका ३ जना घाईते भएका थिए । अध्यक्ष चौधरीले आन्दोलनकारी माथि तातोपानी खन्याउन निर्देशन गरेपछि स्थानीयबासी बाँस तथा ईट्टा लिएर प्रतिकारमा उत्रिएका थिए ।  तयारी अवस्था रहेतापनि आन्दोलनकारीहरु पछि सरेकाले तातोपानी भने खन्याउन नपाएको संघर्ष समितिको आरोप छ ।