यस वर्षको एसईई परीक्षा अन्तर्गात दोस्रो दिनको नेपाली विषयको प्रश्नपत्र सिरहामा परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो । चिट बनाउनमा सक्रिय रहेको टोलीलाई केन्द्राध्यक्ष र गार्डहरुकै सहयोगमा प्रश्नपत्र बाहिर निकालेपछि त्यसको फोटो खिचेर छ्याप्छ्याप्ती पारिएको भन्ने समाचार आएको छ ।
परीक्षा हल आसपासमा फोटोकपी मेशिनसहित चिट बनाउने टोली सक्रिय रहकै अवस्थामा उनीहरुका हात हातमा नेपाली विषयको प्रश्नपत्र पुग्नाले परीक्षाको मर्यादा उल्लंघन गरिएको स्वतः सिद्ध भएको छ । माध्यमिक तहको परीक्षा (एसईई) लाई शान्त, सुरक्षित तथा मर्यादित तबरले सञ्चालनका लागि जिल्ला जिल्लामा परीक्षा समितिको समेत व्यवस्था गरिएको पाईन्छ । समितिमा शिक्षा सम्बद्ध अधिकारी देखि सुरक्षा निकायको समेत सहभागिता रहने गरेको छ । तर हरेक वर्ष जस्तो एसईई परीक्षाका समयमा प्रश्नपत्र बाहिरिने गरेको छ । बाहिरबाट तयार गरी पठाईएको उत्तर सारेर परीक्षामा पास हुने सोच र त्यसकै लागि गरिने परीक्षाको मर्यादा उल्लंघनले कस्तो जनशक्ति तयार पार्ला ? सोचनीय विषय बनेको छ । परीक्षालाई मर्यादित ढंगबाट सञ्चालन गर्न सकियो भने मात्र परीक्षा लिनुको पनि औचित्य रहन्छ । माध्यमिक तहमा पढ्दा विद्यार्थीको सिकाईको स्तर तथा तिनको क्षमता कस्तो रहेको छ भन्ने जाँच्नका लागि नै यस्तो परीक्षा लिने गरिएको हो ।
यसमा विद्यार्थीले मौलिकता र आफूमा रहेको क्षमता उत्तरपुस्तिकामा अभिव्यक्त गर्न पाउँछन्, तर बाहिरबाट गरिने सहयोगका भरमा उत्तरपुस्तिका भर्ने काम हुन थाल्यो भने चोरी गरेर लेख्नेहरुको पनि अब्बल नतिजा आउने सम्भावनालाई नकार्न सकिन्न । परीक्षाका क्रममा हुने गरेका यस्ता अवाञ्चित गतिविधिलाई निरुत्साहित गर्दै मर्यादित तवरले परीक्षा सञ्चालन गर्न सकिए मात्र त्यसको औचित्य र उपादेयता रहने छ ।