• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाले आफ्नो कार्यालय अगाडिको भगवती पोखरी स्तरीकणकालागि पटक पटक रकम लगानी गर्दै आएको छ ।
नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुंग यस अघि पनि नगरपालिकाको नेतृत्वमा रहेका समयमा थालनी गरिएको स्तरीकरणको कार्य अहिलेसम्म पनि चालु नै छ । नगरपालिका मात्र होईन,प्रदेशसभा सदस्यको बजेट समेत यस पोखरीमा नलगाईएको होईन । गुरुंगको प्रयासमा अहिले पनि यहाँ स्तरीकरणको काम भईरहेको बताईन्छ । पोखरीको अवस्थामा सुधारकालागि यसरी बजेट लगानी गर्नु राम्रो नै मानिएला । कारण,यस पोखरीका आसपासमा विभिन्न मन्दिर समेत रहेका कारण भक्तजनलाई नुहाईधुवाई तथा अन्य कामकालागि पोखरीको उपयोग रहन सक्दछ । पोखरी संरक्षित भएमा पानीको स्रोतको पनि जगेर्ना हुने भएका कारण यस कार्यलाई सकारात्मक नै मान्न सकिएला । तर जति लगानी भईसकेको छ त्यस अनुपातमा अहिले पनि पोखरीको अवस्था सुधार हुन चाहिँ नसकेको अवस्था छ । यहाँ बाहिरबाट ल्याएर फोहर फाल्ने,पोखरी आसपासमा सौच गर्ने,अनाधिकृत प्रबेश गर्ने लगायतका समस्या विद्यमान रहेका कारण पोखरीमा फोहरको समस्या छ । नगरको मुख्य ठाउँमा रहेको यस पोखरीको स्तरीकरणमा जसरी लगानी गरिँदै छ त्यसै हिसाबले यसमा फोहर गर्ने काममाथि रोक लगाउनु अति नै आवश्यक छ ।
फोहर गर्न नछाड्ने हो भने यसको अवस्था विगतकै जस्तो दुर्गन्धित बन्नेमा आशंका रहने छैन । नगरपालिकाले पोखरीमा पर्याप्त पानी भरेर नियमित रुपले यसको रेखदेखको व्यवस्था मिलाउन सक्दा मात्र लगानीको पनि सदुपयोग हुन सक्नेछ ।