भर्खरै नयाँ समीकरणको सरकार गठन भएको छ । सामान्यतः सरकारको कामलाई सय दिन सम्म हेर्ने र त्यसपछि मात्र टिप्पणी गर्ने मान्यता रहिआएको छ । तर सरकार गठन लगत्तै यसको भविष्यका विषयलाई लिएर अहिले विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेको छ ।
विशेष गरी विपक्षी दलका नेताबाट नै यो सरकार धेरै दिन नटिक्ने भनि अभिव्यक्ति आउने गरेको छ । सत्ताका सहयात्री दलबाट पनि आफूले समर्थन नदिँदा सरकार धरमराउने आँकलनकासाथ भने जस्तो भागबण्डाकालागि दवाव दिने गरेको भन्ने खालका समाचार आउन थालेका छन् । कुनै पनि दलको स्पष्ट बहुमत नरहेका कारण दलहरुका वीच समीकरण कायम गरी सरकार निर्माण गर्नु पर्ने वर्तमान परिस्थिति छ । जनताले नै मिलेर काम गर्नकालागि दिएको मतको सम्मानस्वरुप पनि राजनीतिक दलहरुले आआफ्नो अडान तथा सत्ताको रटान त्याग्दै वर्तमान संसदको कार्यकाल भरि मिलेर काम गर्नु आवश्यक पक्ष हो । तर आफूले भनेको जस्तो नगरे सरकार ढाल्ने खालका अभिव्यक्तिले गर्दा फेरि पनि अस्थिरता नै आउने पो हो कि भन्ने चिन्ता बढेको अवस्था छ । बारम्बार सरकार बनाउने र गिराउने खेल चल्ने हो भने यो दुर्भाग्यपूर्ण हुने कुरामा सन्देह छैन । सरकार बनाएर वा गिराएर कसैको अभिष्ट पूरा भएको मानिएला । तर जनताकालागि गरिनु पर्ने काममा चाहिँ यसबाट रोकावट आउने निश्चित नै छ ।
विद्यमान समस्या समाधानकालागि पनि सरकारलाई काम गर्ने समय दिन आवश्यक हुन्छ । बरु सरकारले ठीक ढंगबाट काम गर्न सकेन भने त्यसको खबरदारी गरी काम गराउन दवाव सिर्जना गर्न सक्दा नै त्यो समय सापेक्षका साथै उपयुक्त पनि मानिने छ ।