• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काबा मेयर र हाकिम विच विवाद उत्कर्षमा, नियम मिच्दै गुरुङलाई थमाइयो मन्त्रालय फिर्ताको पत्र 

काबा मेयर र हाकिम विच विवाद उत्कर्षमा, नियम मिच्दै गुरुङलाई थमाइयो मन्त्रालय फिर्ताको पत्र 
न्यूज टुडे
राजविराज, १ फागुन । 
राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ विचको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कार्यबाहक मेयर परबिनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने पत्र सार्वजनिक भएपछि विवाद बाहिरीएको हो । 
जनप्रतिनिधिहरु विच भएको विवादित निर्णय कार्यान्वयन गर्न नमानेको आक्रोशमा आफुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको पत्र थमाएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । 
“नगरपालिकाका केही करार कर्मचारीहरुलाई हटाउन १८ जना कार्यपालिका सदस्यहरुको हस्ताक्षर आफुलाई बुझाइयो, उनले भने, तर हटाउन भनिएका मध्येका केही  कर्मचारीहरुको सेवा अवधि थप्न मेयर सापले दवाव दिनुभयो, मैले दुबै पक्षले दिएको दवावलाई अस्विकार गरेपछि मेयर साप म विरुद्व लाग्नु भएको छ । “
न्यूज टुडेसंग कुरा गर्दै गुरुङले  आफुलाई थमाएको पत्र स्थानीय सरकार संचालन ऎन तथा कानुन विपरीत रहेको दाबी  गरेका छन्  । 
“नगरपालिकाले मलाई फिर्ता पठाउने निर्णय स्थानीय सरकारको क्षेत्र अधिकार भित्र पर्दैन, उनले भने, कानुन विपरीत गरिएको निर्णयलाई मान्नुपर्छ भन्नेपनि छैन, आफुमाथि भएको षड्यन्त्र विरुद्ध कानुनी उपचारका लागि अदालत जान्छु ।”
आफुले पाएको पत्रमा कार्यपालिकाको बैठकको निर्णय भनिएपनि कार्यपालिकाको बैठक नै नबसेको गुरुङको दावी छ । 
“कार्यपालिकाको सदस्य सचिब बाहेको बैठकको निर्णयको कुनै औचित्य हुदैन, गुरुङले भने,कसैको घरमा बसेर निर्णय गर्नु, कार्यपालिका सदस्यहरुको घर-घरमा पुगेर हस्ताक्षर गराउनु ठिक पनि हैन ।” त्यसो गर्दा नियम उल्लंघन गरेको ठहर्छ। “
गुरुङले नगरपालिकामा हुने वेथिति रोक्न खोज्दा बदनाम गर्न आफुविरुद्ध कार्यबाहक मेयरले षड्यन्त्र गरेको आरोप लगाए । नगरपालिकाले क्षेत्र अधिकार नाघेकाले निर्णय नमान्ने समेत उनले स्पष्ट पारे । 
 “मिति २०८०/१०/१९ गते बसेको बैठकको निर्णय बमोजिम फागुन १ गतेदेखि लागू हुने गरि तपाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाएको व्यहोरा अनुरोध छ” कार्यबाहक मेयर परविनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । नगरपालिकामा नियम विपरीत खरिद गरिएको सामानको भुक्तानी र नियन्त्रणभन्दा बाहिर हुने खर्च रोक्न खोज्दा गुरुङमाथि जनप्रतिनिधिहरु र कर्मचारीहरुनै लागेको श्रोतको दावी छ ।   
विगतमा तीन महिनाको अवधिमा २४ लाखको खाजा तथा विगतमा खरिद गरिएको भनिएको भेपर लाइट वापतको ठूलो रकम बास्ताविक्ता नबुझी भुक्तानी दिन गुरुङ तत्पर नहुदा विवाद बढ्दै गएको श्रोतको कथन छ ।  विगतका चार महिना भित्र नगरपालिकामा इन्धन बापत २८ लाख रु खर्च भएकोमा आफू आएपछि प्रति महिना इन्धन खर्च नियन्त्रण गरि अधिक्तम २ लाखसम्म पुर्‍याएको गुरुङले दावी गरेका छन् ।  
राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय पठाउने निर्णय कानुन सम्वत नै रहेको दावी गरिन । 
“नगरपालिकाले आफ्नो क्षेत्र अधिकार बमोजिम निर्णय लिएको छ, उनले भनिन्, गुरुङले प्रशासनिक काम भन्दा पनि राजनीतिक बढी गरेकाले आफ्नो अधिकार प्रयोग गरेर मन्त्रालय पठाउने पत्र दिएको छु ।”
 प्रमुख प्रशासकीय अधिकृत गुरुङले आफुमाथि लगाएको आरोप निरधार रहेको बताउँदै मेयर परविनले राजनीतिक गर्ने प्रमुख प्रशासकीय अधिकृत नगरपालिकालाई आबश्यक नभएकोले कार्यपालिका बैठकको निर्णय बमोजिम नै फिर्ता पठाउने पत्रचार गरेको बताइन् ।