न्यूज टुडे
राजविराज, २८ माघ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कर्मचारीहरु कार्यालय भित्रै थुनिएका छन् । स्थानीय इटहर्वा बजारबासीले कार्यालयमा तालाबन्दी गरेपछि उनीहरु ४ घण्टा कार्यालय भित्रै थुनिएका हुन् ।
इटहर्वा बजारको विवादित जग्गा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मालपोत कार्यालय सप्तरीलाई फुकुवा गर्न पत्राचार गरेको विरुद्धमा बजारबासीहरुले कार्यालयमा ताला लगाउदै धर्ना बसेपछि दिनको २ बजेदेखि ५ बजेसम्म कर्मचारीहरु थुनिएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार ठाकुरले अध्यक्ष चौधरीले गरेको पत्राचार बदर गर्ने मालपोत कार्यालयलाई पत्राचार गरेपछि तत्कालका लागि कर्मचारीहरुलाई छोडिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले जानकारी दिए ।
कर्मचारीहरुलाई १५ मिनेट भित्र बाहिर निस्कन समयदिएर पुनः तालाबन्दी गरिएको उनले जानकारी दिए ।
अध्यक्ष चौधरीले गरेको पत्राचार बदर गरि बजारको जग्गा संरक्षण हुने ग्यारेन्टी नगरेसम्म तालाबन्दी कायम राख्ने धर्नामा बसेका अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ का पुर्व वडा अध्यक्ष अरुण कुमार चौधरीले बताए । गाउँपालिका अध्यक्षको रबैया नसच्चिएसम्म तालाबन्दीसहितको आन्दोलन जारी रहने उनले चेतावनी दिए ।
आन्दोलनमा रहेका साविक सितापुर गाउँपालिकाका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरीले अध्यक्ष चौधरीले मालपोत कार्यालयमा गरेको जग्गा फुकुवा र चारकिल्लाको सिफारिस न्यायसंगत नभएको टिप्पणी गरे । वडाको अधिकारलाई हस्तक्षेप गरि अध्यक्ष चौधरीले पदिय हैसियतको दुरुपयोग गरेको बताउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतबाट कानुनी उपचार खोज्ने तथा अध्यक्ष चौधरी विरुद्ध थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
अध्यक्ष चौधरीले आइतबार जग्गाधनीको प्रभावमा परि वडा कार्यालयले र मालपोत कार्यालय सप्तरीले रोक्का गरेको जग्गा फुकुवाको सिफारिस गरेका थिए ।