सप्तरीको खडक नगरपालिका ७ मझौमा शनिबार भव्यताको साथ २८६० औं सोनाम ल्होछार मनाइएको छ । खडक नगरपालिकाको सहयोग तथा नेपाल तामाङ घेदुङ खडक नगरपालिकाको व्यवस्थापनमा नेपाल तामाङ घेदुङ सप्तरीद्वारा आयोजित एक भव्य समारोहका विच सोनाम ल्होछार पर्व मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह । फोटो:न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, उपप्रमुख शम्भु कुमार यादव, खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ तामाङ, पुर्व केन्द्रिय सदस्य मेख बहादुर बम्जन, खड्ग बहादुर तामाङ, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली मौलिक संस्कृति संरक्षणमा तामाङ समुदायको ठूलो योगदान रहेको बताए ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो:न्यूज टुडे
यसैगरी नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष उपेश कुमार सिंह दनुवार, नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधाना राना, नेपाल तामाङ घेदुङ सप्तरीका पुर्व अध्यक्ष सन्तमान गोले, राजविराज नगरपालिका वडा नम्बर ५ की वडा सदस्य आशा कुमारी तामाङ, सर्पदंश उपचार केन्द्र कल्याणपुरका अध्यक्ष उस्मान मियाँ, नेपाल आदिवासी जनजाति महासंघ खडक नगरपालिका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरी, थारु कल्याण कारिणी सभा सप्तरीका प्रतिनिधि विष्णुदेव चौधरी, किरात राई यायोक्खा खडक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चन्द्र कुमार राई लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितीका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ सप्तरीकी उपाध्यक्ष सरिता तामाङले गरिन ।
“साँस्कृतिक पर्व सोनाम ल्होछार २८६० औं डुक/मुपुख्री ल्हो भब्यताको साथ मनाऔं, पहिचान सहितको तामासालिङ प्रदेश स्थापनाका लागि अघि बढौ” भन्ने मुल नाराको साथ आयोजित कार्यक्रममा सप्तरी जिल्लाका विभिन्न पालिकाबाट तामाङ समुदायको उपस्थिति रहेको थियो ।
नृत्य प्रस्तुत गर्दै कलाकारहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुद्वारा तामाङ तथा आदिवासी जनजातिहरुको पहिचान झल्कने गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।