• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शिक्षामा सुधारका लागि  समन्वयमा जोड
न्यूज टुडे
राजविराज, २६ माघ । 
शिक्षा क्षेत्रमा सुधार ल्याउन संघ, प्रदेश र स्थानीय सरकार विच समन्वयकारी भुमिका हुनुपर्ने सप्तरीको राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् । शिक्षा तथा प्रविधि मन्त्रालय बजेट उपशाखाद्वारा आयोजित शिक्षा क्षेत्रका नीति योजना बजेट तथा कार्यक्रम सम्बन्धमा  सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले उक्त जोड दिएका हुन् । 
अन्तरक्रिया पछि सामुहिक तस्बिरमा सरोकारवालाहरु । फोटो : न्यूज टुडे
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले तिनै तहका सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आ-आफ्नो क्षेत्र अधिकार बमोजिम काम गर्न पाउने नीति निर्माणमा जोड दिए । 
आ-आफ्नो अधिकार  र क्षेत्र स्पष्ट नहुँदा नीति , योजना बजेट तथा कार्यक्रम कार्यान्वयन समस्या आउने भएकोले तिनै तहको सरकारले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको बारे नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको जोड थियो । 
शिक्षा क्षेत्रमा सुधार ल्याउन तिनै तहको समन्वयमा उच्च स्तरीय संयन्त्र बनाइ अनुगमन तथा नियमन गनुपर्ने सहभागीहरुले सुझाव दिए । 
सरकारले समयमा बजेट उपलब्ध नगराउँदा गलत प्रक्रियाबाट बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको सहभागी शिक्षा शाखा प्रमुखहरुले गुनासो गरे । बजेट समयमा नआएका कारण कतिपय ठाउँमा शिक्षकहरुले गलत हस्ताक्षर गरेर झुठो विवरण पेश गर्नुपरेको चर्चा गर्दै उनीहरुले समयमा बजेट उपलब्ध हुने नीति निर्माणमा जोड दिए । 
आफुहरुले जतिसुकै उत्कृष्ट बजेट, योजना तथा कार्यक्रम पालिकामा पेश गरेपनि कार्यपालिकाको छलफलको विषयसम्म नहुने उनीहरुले दुखेसो छ । जनप्रतिनिधिहरु विच हुने आन्तरिक द्वन्दले परिषद नहुँदा शिक्षकहरु आफुले पाउनुपर्ने पारिश्रमिकबाट बन्चित हुने गरेको बताउदै उनीहरुले छोटो बाटोबाट छिटो तलव खुवाउने नीति बनाउन  सुझाव दिए ।  
अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सहभागीहरु । फोटो: न्यूज टुडे
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको निजि सचिवालयका उपसचिव प्रकाश सापकोटाले पुर्वाधार विकासको मुल आधार शिक्षा रहेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताए । शिक्षामा लगानी गर्ने तर्फ सरकार संकोचित हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले तिनै तहको सरकारले शिक्षा क्षेत्रको विकासका लागि नीति योजना, बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 
छरपस्ट रहेको शिक्षा नीतिलाई एकीकृत गर्ने उदेश्यले सुझाव संकलन गरिरहेको जानकारी दिंदै उनले अन्तरक्रियाबाट आएको सुझावलाई आउनै लागेको शिक्षा नीतिमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
शिक्षामा बढ्दै गरेको विकृती न्यूनीकरण गर्न पत्रकारहरुको भुमिका महत्त्वपूर्ण हुने बताउँदै उपसचिव सापकोटाले शिक्षा क्षेत्रमा बढ्दै गएको बेतिथि रोक्न पत्रकारहरुसंग समन्वय गरेर अगाडि बढ्न स्थानीय शिक्षा प्रमुखहरुलाई निर्देशन दिए ।
विद्यालयको नियमित अनुगमन तथा शिक्षकहरुलाई शिक्षण सिकाइ तालिमको व्यवस्था मिलाउन सके गुणस्तरीय शिक्षा प्रदान गर्न र  नीति योजना, बजेट तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । 
मन्त्रालयका शिक्षा शाखा अधिकृत शिवराज पोखरेलले सातवटै प्रदेशको एउटा जिल्लामा सुझाव संकलन गर्न लागेको बताउदै मधेश प्रदेश र देशमै पहिलोपटक सप्तरीबाट सुझाव संकलनको कार्य सुरु गरेको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख विजय कुमार मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, सल्लाहकार मनोहर पोखरेल, उपाध्यक्ष बैधनाथ यादव, सचिब रामनारायण विश्वास, प्रदेश परिषद सदस्य बृजमान तामाङ, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, सप्तरीका २८ वटै शिक्षा प्रमुख तथा संयोजकहरुले मन्तव्य व्यक्त गरेका थिए ।