• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मावि बभानगामा कट्टीमा अभिभावक भेला 

रामनाथ यादव 

राजविराज, २५ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कट्टी स्थित रहेको श्री लक्ष्मी बल्लब नरसिङ माध्यमिक विद्यालयमा बिहीवार अभिभावक भेला आयोजना गरिएको छ । विद्यालय निरिक्षक कृष्णकुमार यादवको अध्यक्षता तथा वडा अध्यक्ष हरिनारायण मण्डलको प्रमुख आतिथ्यमा एक समारोहका विच अभिभावक भेला आयोजना गरिएको हो ।
भेलामा बोल्दै अभिभावकहरुले  झण्डै एक वर्षदेखी व्यवस्थापन समिति गठन तथा वर्षौदेखी आय–व्यय सार्वजनिक नगरिएको भन्दै जिल्लाकै पुरानो मध्येकाका विद्यालयको विकासमा सम्बन्धीत निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् । 
२००६ सालमा स्थापना गरिएको उक्त विद्यालयमा देखिएको समस्या समाधान तथा व्यवस्थापन समिति गठनको विषयमा अभिभावक, दाता, जनप्रतिनिधि तथा स्थानीय बुद्धिजिविहरुको बृहत भेलामा यस्तो जोड दिएका हुन् । 
भेलामा सहभागी  अधिकांश वक्ताले गौरवमय इतिहास बोकेको विद्यालयले उचित व्यवस्थापनको अभावमा विभिन्न समस्या झेलिरहेको भन्दै तत्काल समस्याको समाधान तथा व्यवस्थापन समितिको गठन हुनुपर्ने आवश्यकता औल्याए ।
भेलामा सोही विद्यालयका पूर्वविद्यार्थी समाजसेवी बिनयप्रताप सिंह गुडुले विद्यालयमा देखिएका समस्या प्रति चिन्ता व्यक्त गर्दै समाधानका लागि तत्काल व्यवस्थापन समितिको गठन तथा हालसम्मको आय–व्यय, शैक्षिक गतिविधि र अवस्था सार्वजनिक गर्नुपर्ने माग गरे ।
उनले लामो समयदेखी अभिभावकत्व गुमाउँदा विद्यालयको छात्रबृत्ति, दिवाखाजा, प्रशासनिक र आर्थिक कामकाज, जग्गाजमिन, कर्मचारी तथा शिक्षक नियुक्ति, शुल्क निर्धारण लगायतका सबै क्षेत्र अस्तव्यस्त बन्नुका साथै अध्ययन, अध्यापन कार्य समेत प्रभावित भएको बताए ।  विद्यालयमा देखिएको तमाम समस्याको निकासका लागि विद्यालय प्रशासनले समयमै सक्रियाता देखाउन नसकेको  उनले आरोप लगाए ।
अभिभावक जिवछ यादवले विद्यालयको शैक्षिक स्तर उकास्न तथा दयनिय अवस्थाबाट पार लगाउनु पहिला भित्रैबाट सुधार थाल्नुपर्ने बताए । “कहाँ कहाँ त्रृटी भएको छ, त्यहाँ परिवर्तन र सुधार गरौं, उनले भने, त्यसपछि निर्वाचन प्रक्रियाबाट योग्य र सक्षम व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिए आफै सुधार हुँदैजाने छ ।”
विद्यालयका प्रधानाध्यापक विपिन झाले विद्यालयमा सुधारका लागि आफूले निकै पहल गरेको दाबी गर्दै सबैको साथ र सहयोग भने पाउन नसकेको लाचारी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिको गठन सर्वसम्मतीले गर्दा उपयुक्त हुने ठानेर निकै प्रयास गरेपनि सफल नहुँदा गठनमा ढिलाई भएको उनले बताए ।
“एक पक्षले निर्वाचनमै जानु पर्छ, भनिरहेका छन्, उनले भने, “अब भेलाले जे निर्णय गर्छ सोही अनुसार आफू अघि बढेर छिटै समाधान खोजिने छ ।”
भेलामा नरेन्द्र सिंह, अम्बुज सिंह, बेदानन्द मण्डललगायतले बोल्दै गौरवमय इतिहास बोकेको शैक्षिक स्तरमा बृद्धि तथा सुधारका लागि अघि बढ्नु पर्नेमा जोड दिँदै यसका लागि अभिभावक समेतले जाँगर देखाउनु पर्ने सुभाव समेत दिए ।
यसैबीच उक्त भेलाले आगामी फागुन भित्रै व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको  प्रधानाध्यापक झाले जानकारी दिए ।