• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगरको नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

रुपनगरको नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना
उत्तम आचार्य 
रूपनगर, २५ माघ
राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षता तथा पूर्व प्रधानाध्यापक शम्भु प्रसाद धिमिरेलको प्रमुख आतिथ्यमा क्याम्पसमा बिहिवार आयोजित एक समारोहका विच छात्रवृत्ति कोष स्थापना गरिएको हो । 
कार्यक्रममा बोल्दै पुर्व प्रदेश प्रमुख डा. अहिराज । फोटो: न्यूज टुडे
सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले १ लाख १ हजार रुपैया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरे । 
रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकमबाट प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएको छ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
अक्षय कोषको आकार एक करोड रुपैया पुर्‍याउने लक्ष्य राखिएको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताए । “अक्षय कोषलाई १० करोड रुपैयाको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र-छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो, प्राध्यापक गजुरेल भने, गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य  क्याम्पसले लिएको छ ।”
डा. राजेश अहिराजसंगै क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ मा ५१ हजार, रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार १ सय ११ , प्रमीला खतिवडाले ११ हजार एक सय ११ रूपिया र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपैया प्रदान गरे । 
कार्यक्रमलाई सम्बोधन गर्दै डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यो क्याम्पस रोजेको बताए । “मृत्यु पछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ,’ उनले भने, त्यसका लागि हामीले समाज र राष्ट्रको लागि केही योगदान गर्नुपर्ने हुन्छ । “
उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा. रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थीहरू प्रोत्साहित हुने विश्वास व्यक्त गरे । शिक्षा गुणस्तरीय नभए सम्म समाजले उन्नति गर्न सक्तैन भन्दै डा. बागचन्दले हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औँल्याए । 
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीहरूलाई आफूले र नगरपालिकाका तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । 
शिक्षाको मन्दिरमा गुरुको स्थान उच्चतम् हुने हाम्रो सनातन परम्परा अनुशरण गर्दै अगाडि बढ्नुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानाध्यापक घिमिरेले शिक्षाप्रति सरकारको व्यवहारले हाम्रो शिक्षाको स्तर कमजोर भएको भन्दै खिन्नता व्यक्त गरे।
राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताए ।