• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कन्चनरुपका ट्याक्टर व्यवसायीद्वारा नगरपालिका घेराउ 

कन्चनरुपका ट्याक्टर व्यवसायीद्वारा नगरपालिका घेराउ 
राजकुमार साह
कञ्चनपुर, २५ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्र अन्तर्गतका ट्याक्टर व्यवसायीहरुले कन्चनरुप नगरपालिकाको कार्यालय घेराउ गरेको छ । आफ्नो क्षेत्र अन्तर्गतका खोला नाला ठेक्कापट्टा नियम संगत नलगाउँदा आफुहरुको व्यवसाय धारासायी भएको भन्दै ट्याक्टर व्यवसायहरुले बिहिवार नगरपालिका घेराउ गरेको हो । 
पालिका अन्तर्गतका दर्जनभन्दा बढी ट्याक्टर पालिकाको गेटमा तेर्साएर व्यवसायीहरुले नगरपालिका, प्रहरी र  वन कार्यालयले अनावश्यक दुख दिने गरेको भन्दै विरोध जनाएका छन् । 
ट्याक्टर व्यवसायीका अध्यक्ष देवनारायण साहले गत पुस २९ गते  बालुवा ,गिट्टि घर निर्माण ,मठ मन्दिर ,चर्पीको साथै अन्य विकास निर्माण कार्यका लागि नीति नियम अनुसार  निकासीको लागि पहल गरि दिन पालिकालाई लिखित निवेदन दिंदा हाल सम्म कुनै किसिमको पहल नभएकोले बाध्य भएर ट्याक्टर सहित आन्दोलनमा उत्रिनु परेको बताए ।  पालिकाले समयमा खोला ,नाला  ठेक्कापट्टा नलगाउँनुको साथै कुनै विकल्प समेत नदिएकोले आफुहरु मर्कामा परेको उनले बताए   । 
“सर्वसाधारण नागरिककोलागि एक आध ट्याक्टर बालुवा खोलाबाट निकाल्न लाग्दा  पालिकाको मिलोमतोमा प्रहरीले पक्राउ गर्छ, उनले भने, ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बालुवाको ट्याक्टर समातेपछी ७ हजारको नगद रसिद पालिकाबाट काट्छ ,जसमा ३५ सय प्रहरी कार्यालयले  र ३५ सय पालिकाले लिने गरेको छ ।” 
सव डिभिजन वन कार्यालय कञ्चनपुरले ट्याक्टर नियन्त्रण लिने तथा आफुहरुलाई गरेको जरिवाना रकम वनका विभिन्न समितीसंग मिलेर भगबण्डा गर्ने गरेको आरोप अध्यक्ष साहले लगाए ।
पालिकाको प्रवक्ता तथा वडा नम्बर -८ का वडा अध्यक्ष कृष्णा प्रसाद साहका अनुसार खोलाबाट निकासी गरेको बालुवा प्रहरीले समातेपछी पालिकामा रसिद कटाउन पठाउँछ ,त्यो सहि हो जसमा एक ट्याक्टर निर्माण सामग्री बापत प्रहरीलाई ३ हजार ५ सय पालिकाले दिने गरेको छ । 
ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक कुमार रायले अबैध रुपमा बालुवा निकासीलाई प्रहरीले समातेपछि कानुनी कारबाहीको लागि नगरपालिका पठाउने गरेको बताए ।पालिकाबाट ७ हजारको रसिद काटेर ल्याएपछि ट्याक्टर धनीको जिम्मा लगाउने गरेको उनले बताए ।
“प्रहरीले उक्त कार्य बापत कुनै रकम लिदैन, डिएसपी रायले भने,पालिकाले प्रहरीलाई  रकम दिने सन्दर्भमा के कस्तो निर्णय गरेको छ त्यो हामीलाई थाह छैन । “
यसैगरी ट्याक्टर व्यवसायीहरुले सोमबारसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला डिभिजन वन अधिकृत,प्रहरी प्रमुखको उपस्थितिमा सोमबार बैठकबसी समस्या समाधान गर्ने नगरपालिकाले प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको ट्याक्टर व्यवसायीका अध्यक्ष साहले जानकारी दिए ।