न्यूज टुडे
राजविराज, २५ माघ ।
जनमत पार्टीद्वारा मधेश कृषि विश्वविद्यालय लगाएको ताला खोलिएको छ । जिल्ला समन्वय समितिको कार्यालय राजविराजमा बिहीबार बसेको सर्वपक्षीय बैठकले ताला खोल्ने निर्णय गरेपछि विश्वविद्यालयको कार्यालयमा लगाइएको ताला १८ दिनदेखि खुलेको हो ।
विश्वविद्यालयले आगामी दिनमा गर्ने कार्यहरु सहमतिको आधारमा गर्नुपर्ने तथा जनमत पार्टीले उठाएको ७ सुत्रीय माग एक महिना भित्र सर्वपक्षीय भेला बोलाएर सार्वजनिक गर्ने सहमतिपछि ताला खोलिएको विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवन ठाकुरले जानकारी दिए ।
सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, एकीकृत समाजवादी पार्टी सप्तरीका प्रताप नारायण चौधरी, लोसपा अध्यक्ष सुनिल कुमार झा, जनमत पार्टी सप्तरी इन्जार्ज राम गमन साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका अध्यक्ष अरुण कुमार देवको उपस्तिथि थियो ।
यसैगरी प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, नेकपा एमाले सप्तरीका सचिव देवनाथ यादव,राप्रपा सप्तरीका सहसचिव सुरेश कुमार साह लगायतका विभिन्न पार्टीका नेता तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थित थियो ।
यसअधि विश्वविद्यालयद्वारा मंगलबार एक अनुरोध पत्र जारी गर्दै तालाबन्दीले दैनिक प्रशासनिक कार्य अवरुद्ध रहेकोले सम्बन्धित पक्षलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधानका लागि आव्हान गरेका थिए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरद्वारा हस्ताक्षरित अनुरोध पत्रमा तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै विश्वविद्यालयको पठनपाठन तथा दैनिक कार्यलाई सहज रुपमा संचालन गर्ने बाताबरण मिलाई दिन सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।
जनमत पार्टीले विभिन्न ७ सुत्रीय माग राखी मधेश कृषि विश्वविद्यालयको कार्यालयमा २०८० माघ ७ गतेदेखि गरिएको तालाबन्दीले बि.एससी. एजि द्वितीय सेमेस्टरका सम्पुर्ण छात्रछात्राहरुको अध्यन, अध्यापन , फर्म, रजिष्टेशन लगायत नयाँ भर्ना तथा दैनिक प्रशासनिक कार्य अबरुद्ध रहेको थियो । तालाबन्दीका कारण विश्वविद्यालयको पठनपाठनसहित सम्पुर्ण कामकाज प्रभावित भएको थियो भने विश्वविद्यालयको अतिआबश्यक काम कारबाही ठप्प भएको थियो ।
विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर्नुपर्ने, गैर बैधानिक कार्यमा रोक लगाउनुपर्ने,विश्व विद्यालयको डि .पि .आर.मा भएको भ्रष्टाचारको छानवीन गर्नुपर्ने, ठेक्कापटामा भइरहेको मिलोमतो बन्द गर्नुपर्ने, परीक्षा बोर्ड विनाको लिएको परिक्षाको छानबिन गर्नुपर्ने, नियुक्तिमा राजनीतिककरण बन्द गर्नुपर्ने, ऎन कानुनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग उठाउँदै जनमत पार्टीले विश्वविद्यालयको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले सुशासन मिचेर जनभावना विपरीत काम गरेको तथा जनताबाट बहिष्कृत नेता वा पात्रको इसारामा अनियमितता र भ्रष्ट कामलाई अगाडि बढाएको आरोप लगाउदै जनमत पार्टीले तालाबन्दी गरेका थिए ।
विश्वविद्यालयका सहकुलपती तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवलाई समेत जानकारी नदिइ भवन शिलान्यासको काम गरेको जनमतको आरोप थियो ।
जनमत पार्टीले विश्वविद्यालयको भवन शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको प्रति असन्तुष्टि जनाउँदै तत्काल रोक्नुपर्ने माग गरेका थिए । विश्वविद्यालयको भुमी पुजन तथा शिलान्यास कार्यक्रम स्थगित गर्नुपर्ने भन्दै शिलान्यास स्थलमा पुगेका मन्त्री यादव नेतृत्वमा रहेको जनमत नेताकार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा नमानेपछि प्रहरीले बल प्रयोग गरेका थिए ।
प्रहरीको लाठीचार्जबाट तत्कालीन मन्त्री यादवसित जनमत पार्टीका नेताकार्यकर्ता सामान्य घाइते समेत भएका थिए । सोही विषयलाई लिएर जनमत पार्टी मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएका थिए ।
जनमत पार्टीलाई चिढ्याएर राजविराज १३ स्थित बिसहरियामा विश्वविद्यालयको भवन शिलान्यास गरेपछि विवाद झन उत्कर्षमा पुग्दा तालाबन्दीको विषय थप पेचिलो बनेको थियो ।
पुर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जसपा अध्यक्ष यादवले २६ बिगाहा ८ कठ्ठा १८ धुर क्षेत्रपलमा कृषि विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा तालाबन्दीको भोलिपल्ट गत माघ ८ गते भवन शिलान्यास गरेका थिए ।
मुख्यत शिलान्यास कार्य तत्काल स्थगित गर्न दवाव सिर्जनाका लागि जनमत पार्टीद्वारा विश्वविद्यालयको कार्यालयमा गत माघ ७ गते लगाएको ताला १८ औं दिनपछि बिहिवार खुलेको छ।