• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश कृषि विश्वविद्यालयद्वारा वार्ता आव्हान 

मधेश कृषि विश्वविद्यालयद्वारा वार्ता आव्हान 
न्यूज टुडे
राजविराज, २३ माघ ।
मधेश कृषि विश्वविद्यालयद्वारा बार्ता र संवादका लागि आव्हान गरेका छन् । विश्वविद्यालयद्वारा मंगलबार एक अनुरोध पत्र जारी गर्दै तालाबन्दीले दैनिक प्रशासनिक कार्य अवरुद्ध रहेकोले सम्बन्धित पक्षलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधानका लागि आव्हान गरेका हुन् ।
विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरद्वारा हस्ताक्षरित अनुरोध पत्रमा तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै विश्वविद्यालयको पठनपाठन तथा दैनिक कार्यलाई सहज रुपमा संचालन गर्ने बाताबरण मिलाई दिन सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ । 
“बर्तमान अवस्थामा रहेको रोजगारी, खाध संकट तथा शिक्षा आर्जन गर्न विद्यार्थीहरु विदेशिने बेलामा राजविराज ३ सप्तरीमा अवस्थित मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालय मिति २०८० माघ ७ गतेदेखि अवरुद्ध रहेकोले विश्वविद्यालयको ध्यानाकर्षण भएको छ, अनुरोध पत्रमा भनिएको छ, उक्त कार्यले बि.एससी. एजि द्वितीय सेमेस्टरका सम्पुर्ण छात्रछात्राहरुको अध्यन, अध्यापन , फर्म, रजिष्टेशन लगायत नयाँ भर्ना तथा दैनिक प्रशासनिक कार्य अबरुद्ध रहेकोले सम्बन्धित पक्षसंग बार्ता तथा संवादद्वारा समस्या समाधानका लागि आव्हान गर्दछु । “
उक्त कार्यमा सौहार्दपुर्ण बाताबरण बनाईदिन हुन सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु, विश्वविद्यालयद्वारा जारी अनुरोध पत्रमा उल्लेख छ । 
जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा विभिन्न ७ सुत्रीय माग राखी गत माघ ७ गते विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण विश्वविद्यालयको पठनपाठनसहित सम्पुर्ण कामकाज प्रभावित भएको छ । तालाबन्दीले विश्वविद्यालयको अतिआबश्यक काम कारबाही ठप्प भएको छ ।
विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर्नुपर्ने, गैर बैधानिक कार्यमा रोक लगाउनुपर्ने,विश्व विद्यालयको डि .पि .आर.मा भएको भ्रष्टाचारको छानवीन गर्नुपर्ने, ठेक्कापटामा भइरहेको मिलोमतो बन्द गर्नुपर्ने, परीक्षा बोर्ड विनाको लिएको परिक्षाको छानबिन गर्नुपर्ने, नियुक्तिमा राजनीतिककरण बन्द गर्नुपर्ने, ऎन कानुनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग उठाउँदै जनमत पार्टीले विश्वविद्यालयको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।  
विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले सुशासन मिचेर जनभावना विपरीत काम गरेको तथा जनताबाट बहिष्कृत नेता वा पात्रको इसारामा अनियमितता र भ्रष्ट कामलाई अगाडि बढाएकोले त्यसलाई सच्याउन पटकपटक ध्यानाकर्षण गर्दा समेत सुनुवाइ नभएको उनीहरुको गुनासो छ। 
विश्वविद्यालयका सहकुलपती तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवलाई समेत जानकारी नदिइ काम गरेको जनमतको आरोप छ ।
जनमत पार्टीले विश्वविद्यालयको भवन शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको प्रति असन्तुष्टि जनाउँदै तत्काल रोक्नुपर्ने माग गरेका थिए ।  
विश्वविद्यालयको भुमी पुजन तथा शिलान्यास कार्यक्रम स्थगित गर्नुपर्ने भन्दै शिलान्यास स्थलमा पुगेका मन्त्री यादव नेतृत्वमा रहेको जनमत नेताकार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा नमानेपछि प्रहरीले बल प्रयोग गरेका थिए । 
प्रहरीको लाठीचार्जबाट तत्कालीन मन्त्री यादवसित जनमत पार्टीका नेताकार्यकर्ता सामान्य घाइते समेत भएका थिए । सोही विषयलाई लिएर जनमत पार्टी मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएका थिए । 
जनमत पार्टीलाई चिढ्याएर राजविराज १३ स्थित बिसहरियामा विश्वविद्यालयको भवन शिलान्यास गरेपछि विवाद झन उत्कर्षमा पुग्दा तालाबन्दीको विषय थप पेचिलो बनेको छ । 
पुर्व उपप्रधानमन्त्री एवम्  प्रतिनिधिसभा सदस्य जसपा अध्यक्ष यादवले २६ बिगाहा ८ कठ्ठा १८ धुर क्षेत्रपलमा कृषि विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा गत माघ ८ गते भवन शिलान्यास गरेका थिए । 
शिलान्यास कार्य तत्काल स्थगित गर्न दवाव सिर्जनाका लागि जनमत पार्टीद्वारा विश्वविद्यालयको कार्यालयमा गत माघ ७ गते लगाएको ताला १७ औं दिन मंगलबारसम्म पनि जारी छ । ताला खोल्ने तर्फ कुनैपनि निकायले चासो दिएको छैन ।