न्यूज टुडे
राजविराज, २० माघ ।
सप्तरीको खडक नगरपालिका ७ मझौमा जिल्ला स्तरीय सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ सप्तरीको आयोजना तथा स्थानीय नगर घेदुङको व्यवस्थापनमा माघ २७ गते २८६० औं सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको हो ।
मन्जुश्री सम्वत २०६० सिङ/ फो ( डुक) मुपुख्री सोनाम ल्होछार भब्यताको साथ सफल पारौं, पहिचानसहितको ताम्सालिङ्ग प्रदेश स्थापनाको लागि अघि बढौ भन्ने मुल नाराकोसाथ सोनाम ल्होछार साँस्कृतिक महोत्सव २०८० आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।
महोत्सवमा तामाङ परम्परागत खाना प्रदर्शनी तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा तामाङ भाषाका गित तथा नृत्य प्रस्तुति, राई, मगर थारु लगायतका आदिवासी जनजाति समुदायको झाँकीसहितको विभिन्न प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङले बताए ।
कार्यक्रममा मन्त्री, साँसद, स्थानीय जनप्रतिनिधि, घेदुङका उच्च तहका पदाधिकारी, विभिन्न राजनीतिक दल, जातीय संस्थाका पदाधिकारी, सामाजिक अभियानताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए ।
सप्तरी जिल्लाभरीका तामाङ समुदायको सहभागिता रहने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको ल्होछार महोत्सव आयोजक समितिका संयोजक एवम् घेदुङका पुर्व जिल्ला अध्यक्ष सन्तमान गोलेले बताए ।
स्थानीय विकास,तामाङ भाषा, कला,संस्कृति, चाडपर्वको संरक्षण र खानपिनको प्रबर्द्धन गर्ने तथा पहिचानसहितको ताम्सालिङ्ग प्रदेश स्थापनामा दवाव सिर्जना गर्ने महोत्सवको मुख्य उदेश्य रहेको उनले जानकारी दिए ।
महोत्सव सफलताको लागि खडक नगरपालिका, घेदुङका विभिन्न स्थानीय तहका समितिहरुले आर्थिक सहयोग उपलब्ध गराएको नेपाल तामाङ घेदुङ खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोले तामाङले जानकारी दिए ।
तामाङ सम्वत फेरिने भएको हुँदा तामाङ समुदायले ल्होछारलाई नयाँ बर्षको रुपमा समेत मनाउने गरेका छन् ।